वैशाखमा मुद्रास्फीति २.७७ प्रतिशतमा झर्यो
वि.सं.२०८२ जेठ २७ मंगलवार १२:३२
shares

काठमाडौं, २७ जेठ । देशभर उपभोक्ता मुद्रास्फीति दर निरन्तर घट्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २०८२ सालको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको हो।
यो दर अघिल्लो महिना चैतमा ३.३९ प्रतिशत थियो भने अघिल्लो वर्षको सोही महिनामा यो दर ४.४० प्रतिशत रहेको थियो। मूल्यवृद्धि दर पछिल्ला केही महिनादेखि घट्दै आइरहेकोमा यस महिनामा पनि त्यही प्रवृत्ति कायम रहेको देखिएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षाधीन अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत मात्र रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो।
खाद्य समूहभित्र घ्यू तथा तेल उपसमूहमा मूल्य ११.०८ प्रतिशतले वृद्धि भएको छ भने फलफूल ६.१५ प्रतिशत, दाल तथा गेडागुडी ५।१७ प्रतिशत र गैर(मदिराजन्य पेय पदार्थ ४.७० प्रतिशतले महँगिएको देखिन्छ। तरकारी उपसमूहमा भने ८.११ प्रतिशतको गिरावट आएको छ। मसलाको मूल्य २.२० प्रतिशत र माछा तथा मासुको मूल्य ०.४८ प्रतिशतले घटेको छ।
गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवाको मूल्य ९.०४ प्रतिशत, शिक्षा ५.८८ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ५.२३ प्रतिशत, फर्निचर तथा घरायसी उपकरण ३.९९ प्रतिशत र रेष्टुरेन्ट तथा आवास सेवा ३.१६ प्रतिशतले वृद्धि भएको छ।
क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा वार्षिक मुद्रास्फीति ३.२१ प्रतिशत र शहरी क्षेत्रमा २.६१ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सर्वाधिक ४.२९ प्रतिशत मुद्रास्फीति देखिएको छ। त्यसपछि सुदूरपश्चिम प्रदेश ३.१४ प्रतिशत, मधेश प्रदेश २.८१ प्रतिशत, बागमती प्रदेश २.४० प्रतिशत, गण्डकी प्रदेश २.२३ प्रतिशत, कर्णाली प्रदेश २.२१ प्रतिशत र लुम्बिनी प्रदेश २.१५ प्रतिशतमा छन्।
भौगोलिक क्षेत्रमा काठमाडौं उपत्यका, तराई, पहाडमा मुद्रास्फीति दर क्रमशः २.६४, २.६४ र २.६५ प्रतिशत रहँदा हिमाली क्षेत्रमा भने तुलनात्मक रूपमा उच्च ४.०१ प्रतिशत मुद्रास्फीति देखिएको छ।

















