विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
वि.सं.२०८२ जेठ २७ मंगलवार १२:५०
shares

काठमाडौं, २७ जेठ । मुलुकको विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको हो।
गत आर्थिक वर्षको अन्त्य असार मसान्तसम्मको तुलनामा यो २३.१ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा सञ्चिति १८ अर्ब ४० करोड डलर बराबर रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.५ प्रतिशतले वृद्धि हो।
राष्ट्र बैंकका अनुसार कुल सञ्चिति रकममध्ये २२ खर्ब ११ अर्ब ११ करोड राष्ट्र बैंकमा जम्मा छ भने बाँकी ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा रहेको छ।
कुल सञ्चिति रकममा भारतीय रुपैँयाको हिस्सा २१.२ प्रतिशत रहेको छ। राष्ट्र बैंकको विश्लेषण अनुसार हालको सञ्चिति आयात धान्न सन्तोषजनक देखिएको छ।
बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले अहिलेको अवस्थामा १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ।

















