Dhulikhel Eco Banner new

तीन शतक, २६ छक्का र ४९८ रन

4.55K
shares

काठमाडौं, ४ असार । इंग्ल्यान्डले विश्व क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएको छ । उसले नेदरल्यन्ड्सविरुद्धको पहिलो एकदिवसिए क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान कायम गरेको हो । यो खेलमा इंग्ल्यान्डले बनाएको ४९८ रनको योगफल एकदिवसिए क्रिकेट इतिहासकै सर्वाधिक ठूलो योगफल हो ।

विश्व कीर्तिमानी योगफल तयार पार्नेक्रममा इंग्ल्यान्डका तीन जना खेलाडीले सतक प्रहार गरेका छन् । इंग्ल्यान्डले सन् २०१८ मा आफैले अष्ट्रेलिया विरुद्ध बनाएको ४८१ रनको कीर्तिमान भंग गरेको हो । सर्वाधिक रनको कीर्तिमान कायम गरेको इंग्ल्यान्डले एकै पारीमा सबैभन्दा धेरै २६ छक्का प्रहार गर्ने किर्तिमान पनि तोडेको छ । यस अघि पनि इंग्ल्यान्डले प्रहार गरेको २५ वटा छक्का एकै पारीमा सर्वाधिक छक्काको कीर्तिमान थियो ।

शुक्रबारको खेलमा इंग्ल्यान्डका लागि जस बटलर एक्लैले १४ वटा छक्का प्रहार गरे । त्यस्तै लियाम लिभिङस्टोन ६, डेविड मलान र फिलिप साल्ट ३–३ छक्का प्रहार गरे । नेदरल्यान्डको भिआर क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय ९८ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जस बटलरले ७० बलमा ७ चौका र १४ छक्कासहित सर्वाधिक १ सय ६२ रनको अविजित विष्फोटक शतकीय पारी खेले । उनको यो ओडिआई करिअरको सर्वाधिक उच्च प्रदर्शन हो । युवा खेलाडी फिलिप साल्टले ९३ बलमा १४ चौका र ३ छक्कासहित १ सय २२ रनको शतकीय पारी खेले । उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

डेविड मलानले १ सय ९ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको शतकीय पारी खेले । तल्लोक्रमका लियाम लिभिङस्टोनले २२ बलमा ६ चौका र ६ छक्कासहित ६६ रनमा अविजित रहे । लिभिङस्टोनले १७ बलमै अर्धशतक हान्दै इंग्ल्यान्डबाट एकदिवसिएमा सर्वाधिक छिटो ५० रन पूरा गर्ने खेलाडी बने । एकदिवसिए क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक एविडिभिलियर्सको नाममा छ ।

डिभिलियर्सले १६ बलमा अर्धसतक प्रहार गरेका थिए । एकदिवसिए क्रिकेटको एकै पारीमा तीन शतक प्रहार भएको यो तेस्रो पटक हो । यसअघि दक्षिण अफ्रिकाबाट २०१५ मा वेस्टइन्डिज र त्यसै वर्ष वानखडेमा भारतविरुद्ध तीन तीन शतक प्रहार भएको थियो ।

विश्वकीर्तिमानी लक्ष्य सहित जबाफि ब्याटिङ गरेको नेदेरल्याण्डले २६६ रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डले नेदरल्याण्ड विरुद्धको पहिलो खेल २३२ रनले विजयी हुदै सिरिजमा १–० को अग्रता लिएको छ ।