Dhulikhel Eco Banner new

सुदूरपश्चिममा बैंक निक्षेपमा गिरावट, कर्जा प्रवाहमा सामान्य वृद्धि

1.98K
shares

काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार २०८१ असार मसान्तको तुलनामा कुल निक्षेप ३.१३ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सुदूरपश्चिमका ९ वटै जिल्लाको स्थलगत तथा गैर–स्थलगत अध्ययनको आधारमा निक्षेपको कुल मात्रा १ खर्ब ४४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँमा झरेको छ।

यद्यपि अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने यो निक्षेप ७ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ।  गत वर्षको यही अवधिमा निक्षेप वृद्धिदर १.९१ प्रतिशत रहेको थियो।

कर्जाको पक्षमा भने केही सुधार देखिएको छ। २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा कुल कर्जा प्रवाह ०.२७ प्रतिशतले वृद्धि भई १ खर्ब ५३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने कर्जा ७.२८ प्रतिशतले घटेको थियो।

जिल्लागत रूपमा हेर्दा, कैलाली जिल्ला निक्षेपमा सबैभन्दा अगाडि रहेको छ। कैलालीको योगदान कुल निक्षेपमा ४८.६० प्रतिशत रहेको छ भने बाजुरा जिल्लाको अंश सबैभन्दा कम २.२७ प्रतिशत मात्रै रहेको छ। कर्जा प्रवाहको हिसाबले पनि कैलाली अग्रस्थानमा रहँदै कुल कर्जाको ६८.७७ प्रतिशत हिस्सा ओगटेको छ। यता, बाजुराले कुल कर्जामा मात्र १.०१ प्रतिशत अंश ओगटेको देखिन्छ।