Dhulikhel Eco Banner new

८७८ जनालाई इजरायल पठाउने विकल्प खोज्दै विभाग

5.95K
shares

काठमाडौं, ४ असार । वैदेशिक रोजगार विभागले इजरालयमा रोजगारीमा जानका लागि छनोट भएका श्रमिकको आवश्यक प्रक्रिया जारी रहेको बताएको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा छनौट भएका श्रमिकहरुलाई रोजगारीमा पठाउने विषयमा आवश्यक प्रक्रिया जारी रहेको विभागले जनाएको हो ।

रोजगारीका लागि इजरायल जानका लागि छनोट भएका १ हजार १७५ जनामध्ये अझै पनि ८७८ जना इजरायल जान सकेका छैनन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको समस्याका कारण नपाली श्रमिक जान नपाएको भन्दै विभिन्न उपायहरुको खोजी भइरहेको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । उनका अनुसार अहिलेसम्म छनोट भएका २९७ जना मात्रै इजरायल गएका छन् ।

विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छनौट भएका श्रमिकहरूलाई लामो समयसम्म पठाउन नसकिएपछि वैकल्पिक उपायको खोजी भइरहेको पनि जनाएको छ । अर्को उपाय अबलम्बन गरेर भए पनि यथाशीघ्र पठाउने प्रक्रिया सुरु गर्न प्रयासहरू भइरहेको विभाका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट समेत आवश्यक पहल भइरहेको भन्दै विभागले इजरायलको जनसंख्या तथा अध्यागमन व्यूरो एवं अन्य सरोकारवाला निकायहरूको समेत उपस्थितिमा चाँडोभन्दा चाँडो श्रमिक पठाउने विषयमा प्रयास भइरहेको जनाएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा छनौट भएका ११ सय ७५ जना श्रमिकमध्ये करार सम्झौता सम्पन्न भई २९७ जना इजरायल गइसकेका छन् । तर बाँकीको भने इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध कर्मचारीहरूको श्रम विवादका कारण भिसा जारी नभएको निर्देशक सुनुवारले बताए । त्यहाँका कर्मचारीहरूको श्रम विवाद समाधान भए लगत्तै भिसा तथा सम्झौता पत्र जारी गर्ने भनिए पनि लामो समयसम्म प्रक्रिया सुरु हुन सकेको छैन ।

इजरायल रोजगारीका लागि ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएका थिए । त्यसपछि अन्तर्वाता हुँदै १ हजार १७५ जनाको अन्तिम नाम सार्वजनिक गरिएको थियो ।

इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गरेको थियो । कोरियाभन्दा पनि आकर्षक गन्तव्य भएको हल्ला गरिएको भए पनि अहिले श्रमिक जान मै समस्या भएको छ । जसका कारण छनोट भएर बसेका नेपाली श्रमिकहरुमा अन्यौलता उत्पन्न भएको छ