Dhulikhel Eco Banner new

व्यवसायको भुक्तानी पारदर्शी बनाउन मर्चेन्ट क्युआर प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

1.78K
shares

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले व्यवसायहरूलाई भुक्तानी प्रणालीमा मर्चेन्ट क्युआरको प्रयोग गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले बिहीवार एक चेतनामूलक भिडियो सन्देश सार्वजनिक गर्दै व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर प्रयोग गर्न नहुने स्पष्ट पारेको हो।

भिडियोमा एक व्यापारीले ग्राहकसँग सामानको मूल्य व्यक्तिगत क्युआरमा पठाउन आग्रह गर्छन्। तर ग्राहकले त्यसलाई अस्वीकार गर्दै व्यापारसम्बन्धी कारोबारमा मर्चेन्ट क्युआर प्रयोग गर्नु कानूनी दायित्व भएको बताउँछन्। उनी भन्छन्, “यसको रेकर्ड बस्छ, अनि कानूनी कारबाही हुन सक्छ।”

व्यापारीले “केही हुँदैन” भन्दै व्यक्तिगत क्युआर प्रयोग गर्न आग्रह गरे पनि ग्राहकले पसलकै मर्चेन्ट क्युआर प्रयोग गरेर भुक्तानी गर्छन्। अन्त्यमा उनले व्यापारीलाई सम्झाउँछन् कि व्यक्तिगत क्युआरमार्फत कारोबार गर्नु गैरकानूनी मात्र नभई अवैध सम्पत्ति संकलनको श्रेणीमा पनि पर्न सक्छ।

नेपाल राष्ट्र बैंकको भिडियोको अन्त्यमा स्पस्ट रूपमा भनिएको छ, “वस्तु तथा सेवा वापतको भुक्तानी व्यक्तिगत क्युआरमा लिनु गैरकानूनी हो। त्यसो गर्दा तपाईले आर्जन गरेको सम्पत्ति वैधानिक हुँदैन।”

तसर्थ, केन्द्रीय बैंकले व्यवसायीहरूलाई मर्चेन्ट क्युआरको प्रयोग गर्न आह्वान गर्दै कर प्रणाली तथा वित्तीय पारदर्शिता सुनिश्चित गर्न अनुरोध गरेको छ।