कर्मचारी नियुक्ति र योजना स्वीकृतिमा अनियमितता, अख्तियारको छानबिन सुरू
वि.सं.२०८२ असार ६ शुक्रवार १६:५७
shares

काठमाडौं, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लास्थित पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ।
नगरपालिकामा योजनाको स्वीकृति, कर्मचारी नियुक्ति लगायतका काममा अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरी परेको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
श्रीवास्तव र साह हाल पर्साकै बहदुरमाई नगरपालिकामा कार्यरत थिए। आयोगको टोलीले अजय कुमार श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ स्थित प्रतिमा चोकबाट तथा संदीप साहलाई वीरगञ्ज–३ प्रगतिनगरबाट नियन्त्रणमा लिएको हो।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, अनुसन्धानका क्रममा टोलीले उनीहरूबाट चार थान मोबाइल फोन समेत बरामद गरेको छ।















