११ प्रतिशतले घट्यो वाईवाईको व्यापार
वि.सं.२०८२ असार १७ मंगलवार १२:२१
shares

काठमाडौं, १७ असार । नेपालमा वाईवाई चाउचाउ उत्पादन गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा मात्रै ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।
यो आम्दानी सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा भएको हो। गत केही वर्षको वित्तीय तथ्यांक हेर्दा सिजी फुड्सको कारोबारमा यदाकदा गिरावट आए पनि समग्रमा यसको आर्थिक प्रगति उकालो लागिरहेको छ।
सन् २०१९ मा ६ अर्ब ८९ करोड, सन् २०२० मा ५ अर्ब ६६ करोड, सन् २०२१ मा ७ अर्ब २३ करोड, र सन् २०२२ मा ८ अर्ब १ करोड बराबरको कारोबार भएको थियो। त्यसपछिका वर्षहरूमा केही घटबढ भए पनि सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड र सन् २०२४ मा ८ अर्ब १० करोड आम्दानी गरेको थियो।
सन् २०२३ को तुलनामा सन् २०२४ मा करिब ११ प्रतिशतले आम्दानी घटेको भए पनि कम्पनीको ब्रान्ड मूल्य, वितरण क्षमता र ग्राहकको निष्ठामा कुनै कमी देखिएको छैन।
सिजी फुड्सको वित्तीय विश्वसनीयतालाई अझ बलियो बनाउने पक्ष भनेको इक्रा नेपालले दिएको ‘इक्राएनपी एवान’ क्रेडिट रेटिङ हो। करिब ९९ करोड ५५ लाखको अल्पकालीन ऋणका लागि यस्तो रेटिङ प्राप्त गर्नु कम्पनीको जोखिम व्यवस्थापन र दायित्व निर्वाह क्षमताको सूचक हो।
सन् १९८४ मा स्थापना भएको यो कम्पनी अहिले निर्वाण चौधरीको नेतृत्वमा अगाडि बढिरहेको छ। कम्पनीमा निर्वाणको ७६ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी सेयर एमएस अपोलो इन्भेष्टमेन्ट २० प्रतिशत, वरुण चौधरी ४ प्रतिशत, राहुल चौधरी ०.२ प्रतिशत र अन्य तीन जना सेयरधनीको नाममा बाँडिएको छ।
सन् २०२३ मा कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो, जसले पारदर्शिता र संस्थागत विकासतर्फको प्रतिबद्धता देखाउँछ।

















