Dhulikhel Eco Banner new

११ महिनामा राष्ट्र बैंकले २१३ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन

1.63K
shares

काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपाल राष्ट्र बैंकले कुल २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ बराबरको तरलता (कारोबारमा आधारित) प्रशोचन गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न नसकेको अतिरिक्त रकम राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुविधा  मार्फत खिचेको हो। सो अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत २७ खर्ब ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत १८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा भने कुल १९० खर्ब ८४ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो। यस वर्ष ओभरनाइट तरलता सुविधा अन्तर्गत २ अर्ब ७० करोड रुपैयाँ उपयोग भएको छ।

यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब १ करोड खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा डलर खरिद ५ अर्ब ३३ करोड र तरलता प्रवाह ७ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ थियो।

त्यस्तै, समीक्षावधिमा अमेरिकी डलर ३ अर्ब ४६ करोड बिक्री गरी ४ खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ। अघिल्लो वर्ष यो खरिद ४ खर्ब ८४ अर्ब ४४ करोड थियो।

यही अवधिमा वाणिज्य बैंकहरूको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।