सरकारी कागजात र बैंकका नक्कली कागजात बनाउने एक व्यक्ति पक्राउ
वि.सं.२०८२ साउन २ शुक्रवार १४:५६
shares

काठमाडौं, २ साउन । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झापाका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार खड्काले काठमाडौंको महाराजगन्ज चोकनजिकै पसल सञ्चालन गर्दै आएका थिए। सोही पसलबाट उनले सरकारी कागजात किर्ते गर्ने, बैंक स्टेटमेन्ट र विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू नक्कली बनाउने कार्य गर्दै आएका थिए।
पक्राउपछिको अनुसन्धानका क्रममा खड्काको साथबाट विभिन्न सरकारी कार्यालयका नक्कली छापहरू पनि बरामद गरिएको सिआइबीले जनाएको छ।

















