Dhulikhel Eco Banner new

पूर्वी र मध्य नेपालमा भीषण वर्षा, बाढी र पहिरोको उच्च जोखिम

1.87K
shares

काठमाडौं, ४ साउन । नेपालको पूर्वी तथा मध्य भूभागमा सक्रिय मौसमी प्रणालीका कारण हाल भीषण वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन, चट्याङ, हावाहुरीसहितको भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षा अझै केही समय जारी रहने पूर्वानुमान गरिँदैछ।

पछिल्लो २४ घण्टामा विशेषगरी पूर्वी पहाडी जिल्लाहरू इलाम, धनकुटा, सुनसरी र गण्डकी प्रदेशको कास्की, लमजुङ, पर्वत, तनहुँ लगायतका स्थानहरूमा अत्यधिक वर्षा मापन गरिएको छ। इलामको माईपोखरीमा १८२.२ मिलिमिटर, धनकुटाको त्रिवेणीमा १९५.६ मिलिमिटर, कास्कीको लुम्लेमा १६२.६ मिलिमिटर वर्षा मापन भएको छ। यसबाहेक धरान, तरहरा, पाख्रीबास, कन्याम, हिमाली गाउँ लगायतका ठाउँहरूमा पनि भारी वर्षा मापन भएको छ।

वर्षासँगै खोलानाला र नदीहरूको जलस्तर तीव्र रूपमा बढ्दो क्रममा छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ५ बजेसम्म इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलस्तर सतर्कता तह नजिक पुगेको छ। गण्डकी प्रदेशअन्तर्गत पर्वतको मोदी खोलामा पनि पानीको बहाव बढेको छ।

महाशाखाले नदी किनार, होचो भूभाग र भिरालो जमिनमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। आकस्मिक बाढी र पहिरोको सम्भावनालाई ध्यानमा राख्दै, प्रभावित क्षेत्रका बासिन्दालाई क्ःक् मार्फत चेतावनी सन्देश पनि पठाइएको छ।