Dhulikhel Eco Banner new

नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रूपान्तरण, पूँजी १ अर्ब पुर्‍याउँदै सम्पत्ति व्यवस्थापनको तयारी

3.95K
shares

काठमाडौं, २२ साउन । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ। पूर्व बैंकर तथा बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित कम्पनीले आगामी दिनमा सम्पत्ति व्यवस्थापन कम्पनीको रुपमा क्रियाशील हुने तयारी गरिरहेको छ।

कम्पनीको विशेष साधारण सभा २०८२ बैशाख २२ गते सम्पन्न भई पूँजी वृद्धि र कम्पनी रूपान्तरणको निर्णय गरेको थियो। त्यसको निरन्तरतामा, कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८२ आषाढ २७ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको र अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ५० करोड कायम गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा बीमा प्रमुख रमेश कुमार भट्टराईको नेतृत्वमा रहेको छ। कम्पनीले निष्कृय कर्जा तथा गैर(बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने उद्देश्यका साथ तीन वर्षदेखि निरन्तर खुद नाफा आर्जन गर्दै आइरहेको छ।

सम्पत्ति व्यवस्थापनसम्बन्धी ऐनको प्रतीक्षामा रहेका बेला नेक्सजेनले यस क्षेत्रमा अग्रसर भूमिका निर्वाह गर्दै आएको छ। नेपाल राष्ट्र बैंक र सरकारसमेत सम्पत्ति व्यवस्थापन कम्पनी ऐन ल्याउने प्रक्रियामा रहेको, तर पुँजीको मापदण्डबारे अझै स्पष्टता नआएको कम्पनीले उल्लेख गरेको छ। छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यासअनुसार कर्जाको प्रकृति र साइजअनुसार साना, मध्यम र ठूला कम्पनीको आवश्यकता रहेको सन्दर्भमा, नेक्सजेनले हाललाई १ अर्बसम्मको पूँजी विस्तार गरेर पूर्वतयारी गरेको हो।

कम्पनीले भविष्यमा सर्वसाधारणको समेत सहभागिता सुनिश्चित गर्न ३० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याउने योजना सार्वजनिक गरेको छ। साथै, कार्यक्षेत्र विस्तारको क्रममा विभिन्न सहायक कम्पनीहरू स्थापना गरी सम्पत्ति व्यवस्थापन क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने दीर्घकालीन योजना रहेको कम्पनीले जनाएको छ।