Dhulikhel Eco Banner new

निजामती कर्मचारीले अब स्वास्थ्य बीमा बोर्डमार्फतै पाउने स्वास्थ्य उपचार सुविधा

3.28K
shares

काठमाडौं, १८ भदौ । निजामती कर्मचारी र तिनका परिवारका सदस्यहरूको औषधि उपचारको सुविधा अब स्वास्थ्य बीमा बोर्डमार्फत उपलब्ध हुने भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निजामती सेवा विधेयकमा आवश्यक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार, नेपाल सरकारका निजामती कर्मचारी तथा तिनका परिवारका सदस्यलाई योगदानमा आधारित स्वास्थ्य बीमा योजना स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गराई लागू गरिने छ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको कार्यकालमा ल्याइएको विधेयकमा सो सुविधा सामाजिक सुरक्षा कोषमार्फत दिनेसम्बन्धी प्रस्ताव गरिएको थियो। तर, राष्ट्रिय सभाको विधायन समितिमा भएको छलफलपछि समितिले उक्त प्रस्तावलाई परिवर्तन गर्दै बीमा बोर्डमार्फत सेवा प्रवाह गर्नुपर्ने निष्कर्ष निकालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विधेयकमाथिको छलफलका क्रममा स्वास्थ्य बीमासम्बन्धी व्यवस्था प्रति चासो व्यक्त गर्दै बीमा बोर्डको प्रयोग उपयुक्त हुने तर्क प्रस्तुत गरेका थिए। मन्त्रालयले विधायन समितिमा औपचारिक पत्रमार्फत समेत निजामती कर्मचारी तथा तिनका परिवारको स्वास्थ्य बीमा स्वास्थ्य बीमा बोर्डमार्फत सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो।

यसै अनुरूप, समितिको आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट पारित सामाजिक सुरक्षा कोषमार्फत बीमा योजना सञ्चालन गर्ने प्रावधान हटाउने निर्णय गरेको हो। अब निजामती कर्मचारीहरूको स्वास्थ्य सेवा व्यवस्थापनका लागि स्वास्थ्य बीमा बोर्ड प्रमुख निकायका रूपमा क्रियाशील हुनेछ।