Dhulikhel Eco Banner new

बक्यौता तिर्न थाले सम्राट, रोल्पा र नव नेपाल उद्योगहरू, विद्युत् प्राधिकरणसँग किस्ता नियमित

2.8K
shares

काठमाडौं, ३१ असोज। डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरू नेपाल विद्युत् प्राधिकरण (एनईए) सँगको प्रिमियम महसुल बक्यौता रकम तिर्न पुनः सक्रिय भएका छन्।

ऊर्जा मन्त्रालयका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रीजले विगतमा स्थगित गरेको किस्ताबन्दी रकम तिर्न थालेका छन्।

तीनवटै उद्योगले यसअघि प्राधिकरणबाट २८ किस्ताको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए। तर केही किस्ता तिरेपछि तिर्न छाडेका थिए। सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको ३ करोड ७७ लाख रुपैयाँ बक्यौता रहेको छ। कम्पनीले प्रति किस्ता १३ लाख ४९ हजार रुपैयाँका दरले २८ किस्तामा तिर्ने सहमति गरेको थियो।

चार किस्ता तिरेपछि किस्ता तिर्न छाडेको सम्राट सिमेन्टले पछिल्लो समय ३ किस्ताको ४० लाख ४७ हजार रुपैयाँ एकमुष्ट तिरेर जेठसम्मको किस्ता चुक्ता गरेको छ। तर असारदेखि असोजसम्मका ११ किस्तामध्ये ७ किस्ता मात्र तिरेको पाइएको छ। बाँकी ५३ लाख ९६ हजार रुपैयाँ बराबरको ४ किस्ता तिर्नका लागि प्राधिकरणले पत्राचार गरेपछि कम्पनीले तिर्न सहमति जनाएको हो।

त्यस्तै, रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौताको भुक्तानी गर्न प्रति महिना ३ लाख ५४ हजार रुपैयाँका दरले किस्ताबन्दी लिएको थियो। ६ किस्ता तिरेपछि स्थगनमा गएको उक्त उद्योगले हालै ५ किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिर्दै पुनः नियमित किस्तातर्फ फर्किएको छ। अब उद्योगले १७ किस्ता बाँकी छ।

अर्कोतर्फ, नव नेपाल प्लास्टिक इन्डस्ट्रीजले भने १२ किस्तामा १ लाख २३ हजार रुपैयाँ तिरेर सम्पूर्ण बक्यौता चुक्ता गरेको मन्त्रालयले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गर्ने उद्योगहरूसँग सामान्य भन्दा बढी महसुल लिने व्यवस्था गरेको छ। तर, लामो समयदेखि उद्योगहरूले बक्यौता रकम तिर्न आलटाल गरेपछि प्राधिकरणले किस्ताबन्दीको सुविधा दिएर रकम संकलन गरिरहेको छ।