ब्रोकरले उपत्यकाबाहिर १६ शाखा खोल्दै, कर्णाली कसैको प्राथमिकतामा परेन
वि.सं.२०७९ असार ९ बिहीवार १९:१७
shares

काठमाडौं, ९ असार । पुँजी बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले पछिल्लो समय १० वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुलाई उपत्यका बाहिर थप १६ वटा शाखा खोल्नका लागि अनुमति दिने तयारी गरिरहेको छ । १० वटा ब्रोकर कम्पनीलाई १६ स्थानमा शाखा विस्तारका लागि पूर्वाधार तयार पार्न निर्देशन दिइएको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए ।
१६ स्थानमा शाखा विस्तारका लागि निर्देशन दिइरहँदा कर्णाली प्रदेशमा भने भने एउटा पनि शाखा विस्तार नहुने भएको हो । कुनै पनि ब्रोकरले कर्णालीमा शाखा विस्तारका लागि निदेवन नदिएको बताइएको छ । धितोपत्र बोर्डले माग भएर आएका स्थानमा पूर्वाधारको अध्ययन गरेपछि शाखा विस्तारका लागि स्वीकृति दिने भए पनि यो कुनै निश्चित स्थानमा शाखा खोल्नका लागि भन्न नसक्ने प्रवक्ता केसीको भनाइ छ ।
शाखा विस्तारका लागि बोर्डबाट प्रदेश १ मा ३ वटा स्थानका लागि अनुमति दिइएको छ । त्यस्तै मधेश प्रदेशका २ स्थानमा र बागमती प्रदेशका ३ स्थानमा अनुमति दिइएको बोर्डले जनाएको छ । त्यस्तै गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदशका ४ स्थानमा शाखा खोल्नका लागि स्वीकृति दिन लागिएको बोर्डका प्रवक्ता केसीले बताए । त्यस्तै सुदुरपश्चिम प्रदेशका कैलालीमा शाखा विस्तारका लागि पनि आवेदन आएको जनाइएको छ । तर कर्णाली प्रदेशमा कसैले पनि आवेदन नदिएको उनको भनाइ छ ।
‘ब्रोकरको माग अनुसार नै बोर्डले अध्ययन गरेर स्वीकृति दिने हो, आफैले शाखा खोल्नका लागि भन्न मिल्दैन, यो ब्रोकरको विषय हो,’ केसीले भने । बोर्डले पूर्वाधारको विषय हेरेर स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय मात्रै गर्ने उनको भनाइ छ ।
४ वटा ब्रोकर कम्पनीले भने चालू आर्थिक वर्षमा उपत्यका बाहिर ७ वटा शाखा विस्तार गरिसकेका छन् । त्यसमा पनि कर्णालीमा कुनै पनि शाखा परेको छैन् । अहिले कर्णालीका जनातालाई ४५ नम्बर ब्रोकरले सेवा प्रदान गरिरहेको छ ।
शाखा कार्यालय विस्तार गर्नका लागि सैद्धान्तिक स्वीकृति पाएका तथा पूर्वाधारको पनि तयारी गर्नका लागि निर्देशन दिइएका कम्पनीहरुलाई अन्तिम स्वीकृति दिने तयारी भइरहेको प्रवक्ता केसीले बताए ।
ब्रोकरले शाखा विस्तारका लागि माग गरेका स्थानको पूर्वाधारको विषयमा बोर्डले अनुगमन गर्ने र त्यस पनि मात्रै अन्तिम स्वीकृति दिने जनाएको छ । उपत्यका बाहिर शाखा विस्तार गर्नका लागि ५० वटै ब्रोकरले आवेदन दिएको थिए । हालसम्म उपत्यका बाहिर ४१ वटा ब्रोकर कम्पनीका ४७ वटा शाखा रहेका छन् ।
बोर्डले अहिले स्वीकृति दिन लागेका ब्रोकर कम्पनीहरुले प्रदेश नम्बर १ को झापा, इलाम, मोरङ् र पाँचथर रहेकका छन् । त्यस्तै मधेश प्रदेशको महोत्तरी र सिराह, बागमती प्रदेशको रामेछाप, दोलखा र चितवन जिल्ला रहेका छन् । त्यस्तै गण्डकी प्रदेशका पाल्पा र पर्वत तथा लुम्बिनि प्रदेशका भैरहवा, दाङ र नवलपुरमा शाखा विस्तार हुन लागेका हुन् । त्यस्तै सुदुरपश्चिमको कैलालीमा शाखा विस्तार हुँदा कर्णालीमा भने कुनै शाखा विस्तारका लागि आवेदन नआएको बताइएको छ ।
बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले २०७७ फागुन १३ गते नै १२ वटा ब्रोकर कम्पनीहरुलाई २३ स्थानमा शाखा कार्यालय विस्तारका लागि सैद्धान्तिक स्वीकृत दिएका थिए । जसमध्ये ७ स्थानमा शाखा विस्तारको अन्तिम स्वीकृति पाएर कार्यालय समेत सञ्चालन भइरहेको छ ।
शाखा विस्तारका लागि अनुमति पाउनेमा ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले झापाको दमक, २९ नम्बर ब्रोकर त्रिशुल सेक्युरिटिजले नवलपुरको कावासोती, ५७ नम्बर ब्रोकर आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पाल्पाको तानसेन र भैरहवाको रुपन्देहीमा शाखा खोल्ने अनुमित पाएका हुन् । त्यस्तै ४९ नम्बर ब्रोकर अनलाइन सेक्युरिटिजले रामेछापको मन्थली, महोत्तरीको बर्दिबास र मोरङको उर्लाबारीमा शाखा विस्तारको अनुमति पाएका हुन् ।
यता ५९ नम्बर ब्रोकर दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पर्वतको कुस्मा, ७ नम्बर ब्रोकर जे.एफ. सेक्युरिटिजले दाङको तुल्सीपुर र ३८ नम्बर ब्रोकर दिपशिखा धितोपत्र कारोबार कम्पनीले कैलाली लम्कीमा शाखा विस्तारको अनुमति पाएको छ । ३८ नम्बरको ब्रोकरले सिरहाको लाहान र दोलखाको चरीकोटमा पनि शाखा विस्तारका लागि अनुमति पाएका छन् । ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुर, ११ नम्बर ब्रोकर मल्ल एण्ड मल्ल स्टक ब्रोकिङले पाँचथर फिदिम र इलामको सदरमुकाम इलाम बजारमा शाखा कार्यालय विस्तार गर्न पूर्वाधार विस्तारको अनुमति पाएका हुन् ।














