Dhulikhel Eco Banner new

मुरारका समूहले रासन टेकमा लगानी गर्ने

5.41K
shares

काठमाडौं, ९ असार । मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा गरेको छ । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश ५० लगानीकर्ता कार्यक्रमा मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश ५० लगानीकर्ता कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरूसमक्ष २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुती अगाडि सारेको हो । मुलुकभित्र नवीनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता रहेको महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रस्तुुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्ने विज्ञप्तिमा भनिएको छ ।

महासंघ आफैले आवेदन मार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ÷संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ शेशनमा भाग लिएका थिए । महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसँग आवेदन समेत माग गरेको थियो ।

पिचिङ शेशनमा कृषि, उत्पादनमुलक, खानपीन, सूचना प्रविधि, सेवासँग सम्बन्धित विजनेश योजना प्रस्तुुत भएका थिए । महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत वर्ष चैत्र ९ गते ५० विजनेश÷५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो ।

पिचिङ शेशनमा आमा एग्रो प्रा.लि, रासन टेक प्रा.लि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनुअरशिप सर्भिस (नेम्स), अन्सु टेक्नोलोजि प्रा.लि, लुक्ला आउटडोर, पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स,बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस, टेका, बोआफ्रेश,ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसीस छन् ।

महासंघले पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवद्र्धनमा काम गर्दै आएको छ । महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा बताइएको छ ।

महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समयदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिनेछन् ।

यो कार्यक्रमको महासंघका अध्यक्ष शेखर गोल्छाले औपचारिक शुुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नवीनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

महासंघको आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि हाम्रै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको अध्यक्ष गोल्छाको भनाइ छ ।