आइएमईको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८२ कात्तिक २६ बुधवार ११:११
shares

काठमाडौं, २६ कात्तिक । आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते, मंगलबार काठमाडौंमा आफ्नो २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आइएमई लिमिटेडले रेमिटेन्स सेवा उद्योगमा अग्रणी ब्रान्डका रूपमा सफलतापूर्वक प्रतिष्ठा कायम गर्न सकेकोमा सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरे। सभाले सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
अध्यक्ष ढकालले कम्पनीले २५ वर्षको यात्रामा व्यावसायिक दायरा विस्तार गर्दै नयाँ प्रविधि र रणनीतिक योजनासहित आगामी दिनहरूमा थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रविधिको अधिकतम प्रयोग गर्दै रेमिटेन्स सेवा विस्तार र विविधीकरणका माध्यमबाट आइएमईलाई ‘कम्प्लिट फाइनान्सियल सोलुसन्स’को रूपमा विकास गर्ने नीति लिइने उल्लेख गरे।
सभामा कम्पनीका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा पुर्याएको योगदानले यसलाई देशकै सर्वाधिक लोकप्रिय ब्रान्डका रूपमा स्थापित गरेको बताउँदै यो क्षण कम्पनीका लागि गौरवपूर्ण भएको टिप्पणी गरे।
त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरे।

















