Dhulikhel Eco Banner new

तिलक कोइरालाले तोडे अनसन, बोर्डसँग १९ बुँदे सहमति

9.95K
shares

काठमाडौं, १० असार । पुँजी बजारमा सुधारको माग राख्दै आमरण अनसन बसेका तिलक कोइरालाले अनसन तोडेका छन् । कोइरालाले १० औँ दिनमा आएर अनसन तोडेका हुन् ।

संर्घष समितिले राखेका माग पुरा गर्नका लागि कार्यान्वयन समिति गठन गरिएको र अनसन तोडिएको लगानीकता लुल्सीराम ढकालले बताएका छन् । उनका अनुसार ७ सदस्यीय माग कार्यान्वयन समिति गठन गरिएको उनले बताउ । समितिमा बोर्डका तर्फबाट २ जना र लगानीकर्ताहरुको तर्फबाट ५ जना गरी ७ जनाको समिति गठन गर्ने सहमति भएको जनाइएको छ ।

यस अघि राखिएका माग कार्यान्वयन गर्नका लागि समिति गठन गर्ने सहमति पछि अनसन तोडिएको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । कोइरालालाई धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले जुस खुवाएर अनसन तोडिएको ढकालले बताए ।

के के सहमति भयो ?

१.अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समतिको ५८ बूंदे सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने ।

२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने ।

३. कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने ।

४. धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको छ । तथा थप १६ स्थान स्वीकृत दिने प्रकृया तत्काल अगाडि बढाइने।

५. गैर आवसीय नेपालीहरुलाई पुँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकोले आगामी २०७९ श्रावण देखि कार्यान्वयनमा आउने ।

६. सार्वजनिक ओहदामा रहेका महानुभावहरुलाई पूँजी बजारको बारेमा सकारात्मक वा नकारात्मक अभिव्यक्ति नदिने सम्बन्धमा बोर्डले संचालन गर्ने वित्तीय साक्षरताको कार्यक्रममा उक्त विषयलाई विशेष जोड दिने र यस सम्बन्धमा बोर्डले समय समयमा विज्ञप्ती जारी गर्ने ।

७. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।

८. साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म (क्ःभ्क् एबितायचm) संचालनका लागि नेप्सेले कार्यविधि तयार गरिसकेको र सो सम्बन्धी प्राविधिक व्यवस्था मिलाउने कार्य भैरहेकोले २०७९ भदौ महिना सम्म कार्यान्वयनमा ल्याउनका लागि पहल गर्ने ।

९. धितोपत्र बजारमा लिईने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुने क्रममा रहेकोले सोको प्रतिवेदन प्राप्त भएपश्चात सबै सरोकारवालाहरुको उचित राय सुझाव लिई अन्तिम रुप दिने ।

१०. दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।

११. मागको बूँदा ११ को सम्बन्धमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयन पश्चात टिएमएस सञ्चालन गर्दा प्राविधिक रुपमा सम्भाव्य भएमा उक्त व्यवस्था समेट्ने सम्बन्धमा आवश्यक कार्य अगाडि बढाइने छ।

१२. मागको बूँदा १२ को सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग समन्वय गर्ने ।

१३. धितोपत्र बजारमा नयाँ औजार भित्रयाउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज लि. बाट अध्ययन भई कार्यान्वयनको चरणमा रहेकोले सोको लागि आवश्यक कार्य अगाडि बढाइने ।

१४. मागको बँदा १४ सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बीमा समितिसँग आवश्यक समन्वय गर्ने ।

१५. मागको बूँदा १५ सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्ने ।

१६. मागको बूँदा १६ सम्बन्धमा आवश्यक अध्ययन गरी कार्य अगाडि बढाइने ।

१७. मर्जर तथा एक्विजिसन सम्बन्धमा रहेको अन्यौलता हटाउन नेपाल राष्ट बैंक, बीमा समिति र नेप्से सम्मलित समिति गठन भइसकेको र उक्त समितिबाट प्राप्त हुने प्रतिवेदन बमोजिम कार्य तत्तकाल कार्य अगाडि बढाइने।

१८. मागको बूँदा १८ को सम्बन्धमा नेपाल राष्ट्र बैंकसंग समन्वय गर्ने ।

१९. मागको बुँदा नं. १९ को सम्बन्धमा पूँजी बजार र शयर मूल्य को सम्बन्धमा पूँजी बजार र शेयर मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागू गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी आवश्यक समय प्रदान गर्ने ।