दर्जनभन्दा बढी बैंकले घटाए बचतकर्तालाई दिने ब्याजदर, हेर्नुस् कुन बैंकको कति ?
वि.सं.२०८२ मंसिर २९ सोमवार १२:२७
shares

काठमाडौं, २९ मंसिर । एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । पुस महिनाका लागि बैंकहरूले ब्याजदर सार्वजनिक गरेसँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरूको आज सार्वजनिक सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ । मंसिर महिनामा यो दर ५.०४०५ प्रतिशत थियो । यससँगै औसत ब्याजदर ०.२०६५ प्रतिशतविन्दुले घटेको हो ।
पुस महिनाका लागि १३ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशत तथा कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् ।
यता, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंकसहित ७ वाणिज्य बैंकहरूले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएका छन् ।
यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।
हेर्नुस् कुन बैंकको कति:
| बैंक | मंसिरको ब्याजदर | पुसको ब्याजदर |
| ग्लोबल आइएमई | ६ | ५.५० |
| नेपाल | ५.२५ | ५.१० |
| एनएमबि | ५ | ५ |
| सिद्धार्थ | ५ | ५ |
| एनआईसी एसिया | ५ | ५ |
| माछापुच्छ्रे | ५ | ५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ५ | ५ |
| सिटिजन्स् | ४.७५ | ४.७५ |
| लक्ष्मी सनराइज | ५ | ४.७५ |
| एभरेष्ट | ५ | ४.७५ |
| स्ट्यान्डर्ड चार्टर्ड | ४.७० | ४.६० |
| कृषि विकास | ४.७० | ४.५५ |
| प्रभु | ४.९५ | ४.५५ |
| नेपाल एसबिआई | ४.८० | ४.५५ |
| नबिल | ४.७५ | ४.५५ |
| कुमारी | ४.९१ | ४.५३ |
| प्राइम कमर्सियल | ४.७५ | ४.२५ |
| राष्ट्रिय वाणिज्य बैंक | ५.५ | ४ |
| हिमालयन | ५.५० | ४ |
| सानिमा | ५ | ३.७५ |

















