Dhulikhel Eco Banner new

शुक्रबारदेखि नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२ सुरु हुँदै

3.48K
shares

काठमाडौं, २ पुस । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर तथा कार्यक्रम व्यवस्थापन प्रा.लि.को संयुक्त आयोजनामा नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२ पुस ४, ५ र ६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

आयोजकका अनुसार इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, घरायसी कपडा, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी सामग्री समेटिएको उक्त प्रदर्शनी दशौँ संस्करणको रूपमा आयोजना हुन लागेको हो।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका एक सयभन्दा बढी स्टल रहनेछन्। फर्निचर, प्लाइउड तथा काठ औजार उत्पादन गर्ने कम्पनी, विभिन्न कम्पनीका विक्रेता तथा वितरकले आफ्ना उत्पादन र नवीन प्रविधिबारे जानकारी दिनेछन्। विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रदर्शनी काठ व्यवसाय र इन्टेरियर क्षेत्रका लागि कोसेढुङ्गा सावित हुँदै आएको आयोजकको भनाइ छ।

यस एघारौँ नेपाल उड प्रदर्शनीमार्फत विश्वका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डका अत्याधुनिक प्रविधि र सामग्री नेपाली बजारमा भित्र्याई स्वदेशी उद्योगमा प्रयोग प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई प्रयोगमा रहेका मेसिन तथा प्रविधि उन्नयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा नेपाल हस्तकला महासङ्घ, सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घ, नेपाल प्लाइउड उत्पादक सङ्घ तथा इन्टेरियर डिजाइनर सङ्घ नेपाल सहयोगी संस्थाको रूपमा सहभागी रहनेछन्।

यस अवसरमा इन्टेरियर डिजाइनर सङ्घ नेपालका विज्ञहरूमार्फत नवीनतम प्रविधि, इन्टेरियर डिजाइन तथा फर्निचरसम्बन्धी विषयमा दुई दिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

प्रदर्शनीले नेपालमा काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रको विकास र आधुनिकीकरणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। घर निर्माण गर्न चाहने सर्वसाधारणदेखि वास्तुविद्, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

यस प्रदर्शनीले विदेशी बजारमा सफलतापूर्वक प्रयोग भएका नवीन प्रविधि र सामग्री नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउन सहयोग पुर्‍याउनेछ भने स्वदेशी काष्ठ वस्तु उत्पादनसम्बन्धी कार्यमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ।