Dhulikhel Eco Banner new

बजारमा प्याज पाइन छाड्यो, कालोबजारी गर्ने १७ जनालाई कारबाही

6.05K
shares

काठमाडौँ, ६ भदौ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव हुन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

गत आइतबार ४७ मेट्रिकटन आएको र मौज्दात सकिएपछि अहिले कालीमाटी तरकारी बजारमा प्याज नभएको श्रेष्ठले बताए । बजारमा प्याजै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ ।

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ । पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ जना तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।

कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए । ‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ । आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ ।’ उनले भने ।

व्यापारीले प्रतिकिलो ४८ रुपैयाँमा किनेको प्याज ७० सम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ । मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए ।

विभागले बजार अनुगमनका क्रममा सोमबार तीनवटा व्यापारीलाई जनही २० हजार रुपैयाँ, दुई जनालाई जनही ५० हजारका दरले जरिवाना गरेको थियो भने चारवटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेकोे थियो । त्यस्तै मङ्गलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएकोे थियो ।

भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो । भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ ।