नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित
वि.सं.२०८० चैत २८ बुधवार ११:३९
shares

मध्यविन्दु नवलपरासी, २८ चैतः नवलपरासी बर्दघाट सुस्तापूर्वमा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष २ हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।
जिल्लामा गत वर्षदेखि तोरीखेतीतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताएका छन। उत्पादन भएको तेलहन बालीमध्ये तोरी १ हजार २ सय ८३ मेट्रिक टन रहेको छ भने सर्सिउँ १ हजार ६ सय ८८ मेट्रिक टन रहेको प्रमुख तिवारीले बताएका छन ।
“गत वर्ष जिल्लामा २ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा २ हजार ९ सय २० मेट्रिक टन तोरी उत्पादन भएको छ”, उनले भन्े, “यसमध्ये तोरी १ हजार २ सय ८५ मेट्रिक टन र सर्सिउँ १ हजार ६ सय ३५ मेट्रिक टन रहेको छ ।”
बर्दघाट सुस्तापूर्वमा गत आवर्ष २०७९÷८० मा भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि बालीविज्ञ सञ्जय ढकालले बताएका छन । “२ वर्षको तथ्याङ्कलाई हेर्दा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ”, उनले भने “जिल्लामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।”
अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने भएकाले जिल्लाका किसान तोरीखेतीमा आकर्षित भएको कृषि बालीविज्ञ ढकालले बताए । “तोरी लगाउन पनि सजिलो भएकाले जिल्लामा तोरीखेती फस्टाएको हो”, उनले भने, “ किसानले उत्पादनको उचित मूल्य पनि पाएका छन् ।”नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा तोरीखेती हुँदै आएको छ ।
–––



















