Dhulikhel Eco Banner new

फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान

3.45K
shares

काठमाडौं, १३ असार । फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने व्यवस्था गरिएको हो । अनुदान पाउन किसानले न्यूनतम २५ फलफूलका बिरुवा हुर्काएको हुनैपर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले राससलाई जानकारी दिएका छन् । “किसानलाई कृषिमा प्रोत्साहन गर्नका लागि एउटै जातका २५ बिरुवा फलफूलका रोप्नेलाई अनुदानको व्यवस्था गरेका हौँ”, उनले भने, “यसले गाउँपालिकामा फलफूल उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

फलफूल बगैँचा स्थापना कार्यक्रमलाई अभियानका रुपमा लिइने र फलफूलको बगौचा स्थापना गर्ने कृषकलाई प्रतिबिरुवा रु ५० का दरले बिरुवा स्याहार खर्च (उत्पादनका आधारित प्रोत्साहन) उपलब्ध गराइने अध्यक्ष विष्टले बताएका छन् । “खाद्यान्न बालीमा आत्मनिर्भर बनाउन खाद्यान्न बालीको बिज वृद्धि कार्यक्रम सञ्चालन, कृषिउपजको बजारीकरण तथा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने लक्ष्य छ”, उनले भने ।

कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई प्रशोधन गरी कृषकलाई उच्च लाभ हासिल गर्न प्रशोधन केन्द्र स्थापना, उद्यमी, उद्यमी समूह र सहकारी संस्थालाई विशेष अनुदानको व्यवस्था गरिएको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।