२०८३ सालका लागि बैंक बिदा सूची सार्वजनिक, दसैंमा ७ दिन र तिहारमा ५ दिन बैंक बन्द
वि.सं.२०८२ चैत ६ शुक्रवार १५:५०
shares

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचीअनुसार वर्षभर विभिन्न पर्व, दिवस तथा साप्ताहिक बिदामा बैंकहरू बन्द रहनेछन्।
सूचीअनुसार नयाँ वर्षको अवसरमा वैशाख १ गते बैंक बन्द रहनेछ। त्यसैगरी वैशाख १८ गते पर्ने विश्व मजदुर दिवस (मे १) मा पनि सार्वजनिक बिदा दिइएको छ।
ठूला पर्वहरूमा लामो बिदा दिइएको छ। दसैंका अवसरमा असोज २५ गते घटस्थापनादेखि सुरु भएर असोज ३१ गते फूलपातीदेखि कात्तिक ६ गते द्वादशीसम्म गरी कुल ७ दिन बैंक बन्द रहनेछन्। यस्तै तिहारमा कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकासम्म ५ दिन बैंक बिदा हुने जनाइएको छ।
यसैगरी प्रत्येक शनिबार नियमित साप्ताहिक बिदा हुनेछ भने शुक्रबार आधा दिन मात्रै बैंक सञ्चालन हुनेछन्।
प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा सार्वजनिक बिदा घोषणा गरेमा वर्षमा बढीमा ६ दिनसम्म सम्बन्धित प्रदेशका बैंक तथा कार्यालयमा लागू हुने व्यवस्था गरिएको छ। यदि ६ दिनभन्दा बढी बिदा घोषणा भएमा काठमाडौं उपत्यकाका हकमा गृह मन्त्रालयको निर्णयअनुसार हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यससँगै राष्ट्र बैंकले २०८३ सालका लागि कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको छ। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय सञ्चालन हुनेछ। प्रत्येक शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र कार्यालय खुला रहनेछ।















