एक दर्जन बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको लाभाशं दिने क्षमता कति ?
वि.सं.२०७९ साउन १२ बिहीवार १६:४७
shares

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये एक दर्जन बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
अहिलेसम्म ग्लोबल आइएमई, सानिमा, नेपाल इन्भेष्टमेण्ट, एनसीसी, माछापुच्छ्रे, एनआईसी एशिया, प्रभु, लक्ष्मी, सिटीजन्स, सनराइज, स्टयान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् । गत वर्ष सबै बैंकहरुले राम्रो मुनाफा कमाएका छन् । १२ वटा बैंकहरुको खुद नाफा ३३ अर्ब ७१ करोड ६२ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
वित्तीय विवरण अुनसार गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । विवरण अनुसार अघिल्लो वर्षकोभन्दा बैंकले २५ प्रतिश बढी नाफा आर्जन गरेको देखिन्छ ।
नाफा कमाउनेमो अग्रस्थानमा रहेको भए पनि लाभांश वितरणमा भने ग्लोबल आइएमई बैंकभन्दा एनआईसी एशिया अगाडी रहेको छ । हालसम्म विवरण सावर्जनिक गरेका बैंकहरुमध्ये एनआईसी एशियाको लाभांश वितरण क्षमता १९.४३ प्रतिश रहेको छ । यो बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षकोभन्दा ३८.८६ प्रतिशले बढी हो ।
कुन बैंकको अवस्था कस्तो ?
ग्लोबल आइएमई बैंक
सबैभन्दा धेरै मुनाफा कमाएको यो बैंकको विवरतण योग्य मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको सञ्चालन मुनाफा समेत २६.९० प्रतिशले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म ५ अर्ब ९५ करोड रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो भने गत आर्थिक वर्षको समीक्षा अवधिसम्म बढेर ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
बैंकले एक आर्थिक वर्षमा ५ अर्ब २० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो वर्षकोभन्दा २५ प्रतिशले बढी हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ४ अर्ब १६ करोड रहेको थियो । बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले गत आर्थिक वर्षमा १० अर्ब ७४ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । जबकी अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब १३ करोड रुपैयाँ थियो ।
सीमित थियो । बैंकले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको रिजर्भको आकार २५.३८ प्रतिशतले बढेर १० अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षकोभन्दा झण्डै दुई अर्बले बढी हो । अघिल्लो वर्ष रिजर्भमा ८ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । बैंकले निष्क्रिय कर्जा (एनपीएल) १.४१ प्रतिशतबाट घटाएर १.२२ प्रतिशतमा झार्न सफल भएको छ । सीसीडी रेसियो ८९.२१ प्रतिशत रहेको बैंकको आधार दर ९.४० प्रतिशत रहेको छ ।
बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २१.८८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस १९.२५ रुपैयाँ रहेको थियो । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११.४९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५६.११ रुपैयाँ रहेको छ ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा १७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको असरमा १ अर्ब ९२ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्ष २ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ४७ लाख रुपैयाँले बढेको हो । जसको आधारमा गत आर्थिक वर्षका लागि १९.४३ प्रतिशत लाभांश दिने क्षमता बैंकसँग छ ।
एनआइसी एशिया बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा ३८.८६ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको यस्तो नाफा अघिल्लो वर्ष ३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा जोखिम व्यवस्थापन बापतको रकम २९ प्रतिशत घटेको हो । साढे ३५ करोड रुपैयाँभन्दा धेरैले बैंकको यस्तो रकम खुम्चिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ८७ करोड रुपैयाँ कर्जा जोखिम व्यवस्थापनको शीर्षकमा छुट्टाएको छ ।
निक्षेप संकलन कर्जा बिस्तारमा बैंक कमजोर भएपछि कर्जा जोखिम व्यवस्थापन बापतको रकम घटेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ग्राहकहरूसँग कुल २ खर्ब ८९ अर्ब ९० करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेर कुल २ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन एक प्रतिशत घटेको हो भने मात्र डेढ प्रतिशतको वृद्धि कर्जा विस्तारमा देखिन्छ ।
चौथो त्रैमासको अन्त्यसम्म बैंकको कर्जा निक्षेप अनुपात ८८.२६ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको आम्दानीमा पनि सन्तोषजनक वृद्धि छ । कर्जा बिस्तार बापत सञ्चित भएको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७.५८ प्रतिशत बढेको हो । यसै अवधिमा बैंकको खुद फि तथा कमिसनको आम्दानी २४.३७ प्रतिशत बढेको छ । आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो ।
बैंकको शेयर आम्दानीमा करिब ११ रुपैयाँको वृद्धि देखिन्छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी ३९.१३ रुपैयाँ छ । विशेगरी गत आर्थिक वर्षका लागि लाभांश वितरण नहुँदा चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको जस्तै यथावत् छ । यस अवधिमा बैंकको प्रति शेयर नेटवर्थ पनि ३८.५२ रुपैयाँले बढ्दा २१७.५२ रुपैयाँ कायम हुन् पुगेको हो ।
एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ । २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २५ पैसा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ४२.८२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले २ अर्ब ५४ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४३.७७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ९५ करोड रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेको छ । बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको रिजर्भको आकार घटेर ९ अर्ब ९ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष रिजर्भमा ९ अर्ब १४ करोड रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ०.२४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.१२ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८६.०४ प्रतिशत रहेको बैंकको आधार दर ८.८२ प्रतिशत रहेको छ ।
सनराइज बैंक
सनराइज बैंकको गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब १५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४८.६९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि १९.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । चौथो त्रैमाससम्म बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५२ करोड रुपैयाँमा सीमित थियो ।
बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको रिजर्भको आकार ११.५० प्रतिशतले बढेर ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित थियो ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) १.४० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल १.३९ प्रतिशत थियो । सीडी रेसियो ८६.३० प्रतिशत रहेको बैंकको आधार दर १०.०१ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको समीक्षा अवधिसम्म २ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३४.४३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि २४.७५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ७ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ३५ करोड रुपैयाँमा सीमित थियो । बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको रिजर्भको आकार ३२.५३ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको थिया । बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.६२ प्रतिशतबाट बढेर ०.८४ प्रतिशत पुगेको छ । सीडी रेसियो ८६.१६ प्रतिशत रहेको बैंकको आधार दर ९.८ प्रतिशत रहेको छ ।
बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) १५.६७ रुपैयाँबाट २१.०७ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.०६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४५.७ रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक
नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षमा नाफा १४.८३ प्रतिशतले बढाएर ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।
एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ११.१३ प्रतिशत रहेको छ ।
अघिल्लो आवको असार मसान्तमा ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा आइपुग्दा ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ५ अर्ब ११ करोड ९५ लाख १८ हजार रुपैयाँबाट बढेर ६ अर्ब ७२ करोड ७६ लाख १ हजार रुपैयाँ रहेको छ ।
१८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ चु्क्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६७ करोड ८० लाख ११ रुपैयाँ रहेको छ । १ खर्ब ८४ अर्ब ६९ करोड १० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक वर्षको अवधिमा १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा २.४६ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा झरेको छ । २२ रुपैयाँ ३२ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ
स्टयान्डर्ड चार्टर्ड बैंक
एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ३६ लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १६.९० प्रतिशत रहेको छ । यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफा ६२.२६ प्रतिशतले बढाएर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफामा निकै सुधार आएको छ ।
अघिल्लो आवको असार मसान्तमा २ अर्ब ५९ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा आइपुग्दा ३ अर्ब ७५ करोड ७३ लाख ८० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब १ करोड २५ लाख ८९ हजार रुपैयाँबाट बढेर ३ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चु्क्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७६ करोड ३७ लाख १ रुपैयाँ रहेको छ । ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक वर्षको अवधिमा ७९ अर्ब १७ करोड ३९ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.९६ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ । २४ रुपैयाँ ०७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । एक वर्षको अवधिमा बैंकका नाफामा २४.७६ प्रतिशतको सुधार आएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकले १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार ९३२ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा समेत सुधार देखिएको छ । अघिल्लो असार मसान्तमा ३ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा आइपुग्दा ५ अर्ब १२ करोड १२ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ४५ करोड ५२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८४ करोड ९२ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ५२ अर्ब ७९ करोड ८० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३१ अर्ब ६१ करोड २४ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको खराब कर्जा १.६४ प्रतिशतबाट बढेर १.८७ प्रतिशत पुगेको छ । १५ रुपैयाँ ८५ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मक १ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि २.१७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । चौथो त्रैमाससम्म बैंकले ४ अर्ब ८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी १८.२७ प्रतिशतले बढेको छ ।
बैंकले १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको रिजर्भको आकार १३.८६ प्रतिशतले घटेर ४ अर्ब २५ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.७५ प्रतिशतबाट बढेर ०.८९ प्रतिशतमा झरेको छ। सीडी रेसियो ८८.९९ प्रतिशत रहेको बैंकको आधार दर ९.९९ प्रतिशत रहेको छ । बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.७३ रुपैयाँबाट घटेर १३.८८ रुपैयाँमा झरेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.३३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.६९ रुपैयाँ रहेको छ ।
प्रभु बैंक
प्रभ बैंकले गत वर्ष २ अर्ब ६० करोड ३९ लाख ९७ हजार नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको हो । अघिल्लो आवको असार मसान्तमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रुपैयाँबाट बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ६० करोड ३२ लाख ७६ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
१२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।१ खर्ब ७८ करोड ६५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट घटेर १.२० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।
सानिमा बैंक
गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार ३२७ रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ७८ लाख २१ हजार ५८० रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको १ अर्ब ४६ करोड ९९ लाख ८६ हजार १४५ रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ७६ करोड ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड ४९ लाख ८७ हजार रुपैयाँ रहेको छ । यस्तै खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोड ९ लाख ५७ हजार रुपैयाँबाट बढेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको छ । १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख निक्षेप संकलन गर्दा बैंकले असार मसान्तसम्म १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.३५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ २४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ०१ पैसा रहेको छ ।



















