Dhulikhel Eco Banner new

एसबिआई बैंकको नाफा १ अर्ब ६३ करोड

5.79K
shares

काठमाडौं, १८ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ६३ करोड बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २१.०५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३९.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७५.०१ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३.५० प्रतिशत बढेको छ भने जगेडा कोष २३.३५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.६८ प्रतिशत र कर्जा ८.५८ प्रतिशत बढेको छ।