५२ प्रतिशतले घट्यो समीट लघुवित्तको नाफा
वि.सं.२०७९ कात्तिक २१ सोमवार १०:१९
shares

काठमाडौं, २१ कात्तिक । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५२ प्रतिशभन्दा बढीले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको नाफामा गत आर्थिक वर्षकोभन्दा ५२.८१ प्रतिशतले गिरावट आएको हो ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिएको छ । खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका सूचकहरु घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.१७ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १८ प्रतिशत र सञ्चालन मुनाफा ५२.८१ प्रतिशत घटेको छ ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ८७ पैसा घटेर १५ रुपैयाँ १ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५०.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा रहेको छ ।

















