चालू आर्थिक वर्षको कुन महिनामा कति रेमिट्यान्स भित्रियो ?
वि.सं.२०७९ जेठ २८ शनिवार ११:५०
shares

काठमाडौं, २८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा ८ खर्ब ११ अर्ब ७९ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार १० महिनाको अवधिमा विदेशमा रहेका नेपालीहरुले सो बराबरको रकम नेपाल पठाएका हुन् । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.२ प्रतिशतले बढी हो ।
चालू आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै रेमिट्यान्स चैत महिनामा भित्रिएको छ । त्यस्तै सबैभन्दा कम माघ महिनामा भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चैत महिनामा ९६ अर्ब रुपैयाँ भित्रिएको थियो भने माघ महिनामा ७२ अर्ब रुपैयाँ रेमिट्यान्सको रुपमा भित्रिएको देखिन्छ ।
त्यस्तै चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ७६ अर्ब, दोस्रो महिना भदौमा ७९ अर्ब र असोजमा ८४ अर्ब रुपैयाँ रेमिट्यान्सबाट भित्रिएको देखिएको छ । कात्तिक महिनामा ७३ अर्ब, मंसिरमा ७६ अर्ब र पुसमा ८० अर्ब रेमिट्यान्स भित्रिएको छ । त्यस्तै फागुनमा ९१ अर्ब र वैशाखमा ८७ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
यता अमेरिकी डलरमा भने रेमिट्यान्स अझै बढ्न सकेको छैन । डलरको मूल्य लगातार बढिरहेको र नेपाली रुपैयाँमा वृद्धि देखिएपनि डलरमा भने रेमिट्यान्स अझै गत वर्षको तुलनामा १.६ प्रतिशत कम अर्थात् ६ अर्ब ७६ करोड डलर मात्र भित्रिएको छ । अघिल्लो वर्ष सो अवधिमा डलरमै रेमिट्यान्स १६ प्रतिशतले बढेको थियो ।



















