Dhulikhel Eco Banner new

सुर्खेतमा देखियो उमेशलालको क्रेज, व्यापारीहरुले भने– वास्तविक विषय उठान भयो

साधारण सभामा के भने उपाध्यक्ष श्रेष्ठले ?

9.84K
shares

काठमाडौं, ९ पुस । शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उद्योग वाणिज्य महासंघ सुर्खेतको ३९ औँ साधारण सभा भइरहेको थियो । साधारण सभाको प्रमुख अतिथिको रुपमा रहेका थिए कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही । साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएपछि होटल बाहिरको माहोल निकै रमाइलो बनेको थियो ।

कार्यक्रम सम्पन्न हुँदै गर्दा झिसिमिसे साँझ परिसकेको थियो । कार्यक्रममा आएका सबै अतिथिहरु आ–आफ्नो गन्तव्य तिर प्रस्थान गरिरहेका देखिन्थे । कार्यक्रममा उद्योगी व्यवसायीहरुका पूर्व तथा वहालवाल पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सकिएपछि होटल बाहिर फरक दृश्य देखियो । त्यो दृश्य देख्दा लाग्थ्यो यहाँ कोही सेलिब्रेटिहरु आएका छन् र फ्यानहरुले उनलाई घेरिरहेका छन् । तर त्यहाँ कोही कलाकार नभएर नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेश लाल श्रेष्ठ उपस्थित रहेका थिए । उनीसँग कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरुले फोटो खिच्नका लागि निकै तछाडमछाड गरिरहेका थिए ।

फोटोको लागि तछाडमछाड गरिरहेका व्यवसायीहरुले भनिरहेका थिए ‘दाइसँग भेट्ने पहिलेदेखिकै चाहाना थियो, दाईले हाम्रा वास्तविक समस्याहरु बोलिदिनु भयो, हामी निकै खुसी भयौँ ।’ यो दृश्यले उनी उद्योगी व्यवसायीका सेलिब्रेटीनै हुन भन्दा फरक पर्दैन । फोटो खिच्नेहरुको भिड्का बीचबाट पूर्व उपाध्यक्ष श्रेष्ठले पनि ठट्यौलि पारामा भने ‘एक जानको फोटो खिचेबापत १०० रुपैयाँ तिर्नु पर्छ ।’ उनको त्यो ठट्टा त्यति मै सिमित भएन् आफूसँग फोटो खिच्नको कमी नभए पछि उनले फेरि भने ‘अब एक प्रति फोटो खिचाउँदा ५०० रुपैयाँ लिनु पर्ने भएछ ।’ उनले यसो भनिरहदाँ त्यहाँ हाँसोको फोहोरानै छुटेको थियो ।

साधारण सभामा के बोले उमेशलाल श्रेष्ठले ?

त्यस्तै कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित भएका महासंघका पूर्व उपाध्यक्ष श्रेष्ठले व्यवसायीको हकहितका लागि काम गर्नु पर्ने र महासंघको नेतृत्वले पनि व्यवसायीको हकहितका लागि काम गर्न नसकेको बताए । वास्तविक व्यवसायीहरुको हकहितका लागि महासंघले काम गर्नु पर्ने उनको भनाइ थियो । अहिलेको अवस्थामा व्यवसायीहरु मृत्युको मुखमा गइरहेको अवस्थामा सरकार, व्यवसायीहरुको अभिभावक नेपाल उद्योग वाणिज्य महासंघले कुनै चासो नदिएको उनलेे बताए ।

निजी क्षेत्रका व्यवसायीहरुले देह त्याग गरिरहेको अवस्थामा पनि सम्बन्धित निकायले चासो दिन नसकेको उनको भनाई थियो । महासंघको अहिलेको नेतृत्व न कुखुराको चाल न हाँसका चाल जस्तो अवस्थामा रहेको उनले बताए । आफू पनि महासंघको पूर्व उपाध्यक्ष भएकाले यस्तो भन्दा निकै लज्जा बोध भएको बताएका उनले आफ्नो समयको नेतृत्व त्यस्तो नरहेको बताए  ।

अहिलेको नेतृत्वले विभिन्न राजनीतिक दलका नेता, प्रधानमन्त्री तथा राष्ट्र बैंकका गभर्नरलाई भेटेर पहल गरिरहेको बताए पनि आश्वासन मात्रै आएको उनको भनाइ छ । ‘अहिले नेपालमा सबै पहलमानहरु मात्रै छन् हामीलाई हलमानहरु चाहिएको छ,’ पूर्व उपाध्यक्ष श्रेष्ठले भने, ‘उहाँहरुलाई पनि पहल गर्ने आश्वासन आएको छ उहाँहरुपनि पहल नै गर्दै हुनुहुन्छ ।’

‘देशभारबाट अहिलेसम्म ४ जना व्यवसायीले देह त्याग गरिसकेको अवस्थामा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ, योभन्दा लाजमर्दो कुरा के हुन्छ,’ उनले भने, ‘यस्तो बोल्दै गर्दा मलाई रुन मन लागिरहेको छ । हाम्रो महासंघ किन यस्तो भयो ।’ त्यस्तै ७० प्रतिशत देशको अर्थतन्त्र धानेको निजी क्षेत्रलाई सरकारले गर्ने व्यवहार सम्मानजनकन नरहेको उनको भनाइ छ । त्यसमा पनि ७० प्रतिशतको हिस्सा धानेका साना तथा मझौला उद्योगीहरुलाई बैंकहरुले समेत दुःख दिइरहेको उनले बताए ।

ठूला घरानाका १०० उद्योगीहरुले बैंकबाट ७० प्रतिशत अर्थात ३५ खर्ब रुपैयाँ उठाएको श्रेष्ठको भनाइ छ । अर्को तर्फ राष्ट्र बैंकले ल्याएको नीतिका कारण ठूला व्यवसायीहरुलाई कुनै पनि समस्या नभएको भन्दै यसको मारमा साना उद्योगीहरु परेको उनले बताए । ‘ठूलालाई त घरमा पुँजीले भरिपूर्ण छ, उनीहरुलाई अर्को दुई वर्ष कोभिड भए पनि कही फरक पर्दैन । समस्या तपाई हामीजस्ता साना व्यवसायीहरुलाई हुन्छ,’ उनले भने ।

बैंकको ब्याजदरको विषयमा कुरा धेरै भए । बैंकको ब्याजदर बैंकले घटाउन सक्दैन । यो राष्ट्र बैंले मात्रै गर्न सक्ने उनको भनाइ छ । राष्ट्र बैंकले पनि खराब अवस्था भएकाहरुलाई निकै महंगो प्रिमियम जोड्ने नीति लिएको उनको भनाई छ । ‘खराब अवस्था भएका व्यवसायीलाई ७ प्रतिशत प्रिमिय र राम्रो अवस्थामा भएका व्यवसायीहरुलाई ०.५ प्रतिशत मात्रै प्रिमियको व्यवस्था गरिएको छ । यस्तो भन्नुको अर्थ गरिब अझ गरिब हुनुहोस्, धनी अझ धनीहुनुहोस् भन्ने हो,’ उनले भने । यस्ता नीतिले संविधानमा उल्लेखित समाजबादमा कतापि पनि नलैजाने उनको तर्क थियो । ‘५० प्रतिशत जनता गरिबीको रेखामुनी छन, यस्तो किसिमको अर्थनीतिले देशलाई उभो लान सक्दैन,’ श्रेष्ठले भने ।

जिल्लाहरुले गरेको आन्दोलनमा महासंघका अध्यक्षले समर्थन र अवरोध केही पनि नहुने भन्ने समाचार पढ्दा आफूलाई निकै दुःख लागेको श्रेष्ठले सुनाए । ‘यो अवस्था हो भने उहाँलाई महासंघमा बस्ने कुनै अधिकार छैन्,’ उनले भने । अहिलेको अवस्थामा व्यवसायीहरुले आन्दोलन गर्नु पर्ने उनको धारणा छ । ‘म यो अवस्थामा आन्दोलन गर्न भन्छु । यस्तो भन्दा म विद्रोही हुन सक्छु तर यो आजको आवश्यकता हो,’ उनले भने ।

अर्को तर्फ अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको पानी बाराबारको अवस्थाले व्यवसायीहरु मारमा परेको उनको आरोप छ । व्यवसायीहरु बैंकको विषयमा बोल्नु हुँदैन भन्ने होइन बोल्नु पर्छ । यसमा सबैभन्दा धेरै दोषी राष्ट्र बैंक हो । बैंकको नाफा घटेको छ तर व्यवसायी त मरिरहेको अवस्था छ नि ? व्यवसायी बचाउनु पर्ने दायित्व राज्यको होइन ? उनले प्रश्न गरे ।

कोरोनाको समयमा बैंकहरु घरमा नै आएर ६ प्रतिशतमा पैसा दिने गरेको तर अहिले त्यही ब्याज बढेर १४ प्रतिशत पुगेको उनले सुनाए । बैंकलाई समस्या परेको बेला व्यवसायीले पैसा लिएर सहयोग गरेका छन् । अहिले व्यवसायीलाई समस्या परेको समयमा पनि बैंकहरुले केही सहजता कायम गर्नु पर्ने उनको भनाइ छ । त्यस्तै बैंकको तरिका नै गलत रहेको पनि उनको आरोप छ । अफिस समयभन्दा पछि फोन गरेर समेत बैंकहरुले दुःख दिने गरेको भन्दै बैंकहरुले पनि सुध्रिनु पर्ने आवश्यकता रहेको उनको धारणा थियो ।