टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी अटो पार्ट्सको सहयोग
वि.सं.२०८२ पुस २९ मंगलवार १५:४९
shares

काठमाडौं, २९ पुस । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि.ले आफ्ना ‘टाटा गुरु’ सुभाष शर्माको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ‘सिप्रदी सहायता’ मार्फत प्रारम्भिक सहयोग उपलब्ध गराएको हो।
ललितपुरको सानेपा निवासी शर्मा हाल गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल)समस्याबाट पीडित भई काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत हुनुहुन्छ। लामो समयदेखि अटोमोबाइल क्षेत्रमा सीप र दक्षतामार्फत योगदान दिँदै आउनुभएका शर्माको स्वास्थ्य अवस्थाका कारण दीर्घकालीन उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।
दीर्घकालीन उपचारसँगै बढ्दो उपचार खर्चले परिवारलाई आर्थिक चुनौती सिर्जना गरेको अवस्थामा सिप्रदी अटो पार्ट्सले सहयोगको हात बढाएको हो। कम्पनीले सहकर्मीको जीवन रक्षालाई प्राथमिकतामा राख्दै समयमै सहयोग उपलब्ध गराएको जनाएको छ।
सिप्रदी अटो पार्ट्सले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस कठिन समयमा विभिन्न संघ–संस्था, सरोकारवाला निकाय तथा सहयोगी मनहरूलाई मानवीय संवेदनाका आधारमा यथोचित सहयोग गर्न अपिलसमेत गरेको छ।















