ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार सम्मान, १० संस्थालाई अवार्ड
वि.सं.२०८२ माघ २२ बिहीवार १७:१२
shares

काठमाडौं, २२ माघ । ब्रिटिस काउन्सिल नेपालले ग्लोबल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत नेपालमा आइइएलटिएस प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका साझेदार संस्थाहरूलाई सम्मान गरेको छ। फेब्रुअरी ५, २०२६ मा काठमाडौंमा आयोजित उत्कृष्ट साझेदार घोषणा समारोहमा अग्रणी शैक्षिक परामर्श संस्था तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समारोहमा नेपाली विद्यार्थी र व्यवसायिक व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय शिक्षा तथा करिअर विकासका अवसर उपलब्ध गराउन ब्रिटिस काउन्सिल नेपालले गर्दै आएको कार्यको उपलब्धिलाई उत्सवका रूपमा मनाइएको थियो।
१ अगस्ट २०२५ देखि ३१ जनवरी २०२६ सम्म सञ्चालन भएको अभियानअन्तर्गत उत्कृष्ट योगदान पुर्याएका १० साझेदार संस्थालाई सम्मान गरिएको हो। ब्रिटिस काउन्सिलको आइइएलटिएस पार्टनर समिट २०२५ का अवसरमा ग्लोबल च्यानल पार्टनर क्याम्पेन २०२५ को औपचारिक घोषणा गरिएको थियो भने अभियानको उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताका साथ नेपालस्थित साझेदारहरूको योगदानलाई कदर गर्नु रहेको जनाइएको छ।
आगामी मार्च २३ देखि २७ सम्म लन्डनमा आयोजना हुने ग्लोबल च्यानल पार्टनर मिट–अप तथा अवार्ड समारोहमा नेपालबाट छनोट भएका उत्कृष्ट साझेदार संस्थाहरूलाई विश्वभरका विजेतासँगै सम्मान गरिनेछ। लन्डनमा हुने समारोहमा कम्प्युटरमार्फत आइइएलटिएसका लागि बढी योगदान गर्ने तथा समग्रमा सबैभन्दा बढी योगदान गर्ने संस्थाका रूपमा अर्बिट मेडिकल इन्ट्रान्स प्रा।लि सम्मानित हुने भएको छ। वार्षिक प्रगति हासिल गर्ने संस्थाका रूपमा केआइइसी लर्निङ सेन्टर प्रा।लि, तीव्र विकास र उदयमान साझेदारका रूपमा द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा।लि तथा उत्कृष्ट कार्यसम्पादन गर्ने संघका रूपमा नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० चयन भएका छन्।
विश्वव्यापी अवार्ड विजेता बाहेक पनि ब्रिटिस काउन्सिल नेपालले ग्लोबल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस प्रा.लि, आरटीसी इङ्ग्लिस, युनी कन्सल्टेन्ट एलायन्स प्रा.लि, बिर्तामोड एजुकेसन फाउन्डेसन प्रा.लि, ग्रेस इन्टरनेशनल ग्रुप प्रा.लि, एइसीसी ग्लोबल र सुमेधा एजुकेसन नेटवर्क प्रा.लि लाई उत्कृष्ट साझेदारका रूपमा सम्मान गरेको छ।
समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी परीक्षा सम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले आइइएलटिएसप्रति इमान्दारिता, गुणस्तर र उच्च मापदण्ड कायम राख्दै निरन्तर योगदान पुर्याउने साझेदार संस्थाहरूको सम्मानले ब्रिटिस काउन्सिलको संस्थागत प्रतिबद्धता झल्काएको बताइन्। उनले सम्मानित साझेदारहरूले आइइएलटिएस परीक्षामा विश्वव्यापी मापदण्ड कायम राख्न उत्कृष्ट भूमिका खेलेको उल्लेख गरिन्।
यस्तै, बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले साझेदार संस्थाहरूले आइइएलटिएसको पहुँच विस्तार गर्दै अन्तर्राष्ट्रिय शिक्षाप्रति नेपालको चाहना पूरा गर्न महत्वपूर्ण योगदान गरेको बताए। उनले लन्डनमा आयोजना हुने कार्यक्रममा सहभागिताले नेपाली साझेदार संस्थाहरूलाई अन्तर्राष्ट्रिय अनुभव, आपसी सिकाइ तथा क्षमता अभिवृद्धिको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
अन्र्तराष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली आइइएलटिएस उच्च शिक्षा र विश्वव्यापी आप्रवासनका लागि विश्वकै सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा दक्षता परीक्षण प्रणाली हो, जसलाई विश्वभर १२ हजारभन्दा बढी शैक्षिक संस्था, रोजगारदाता तथा सरकारी निकायले मान्यता दिएका छन्। आइइएलटिएसलाई ब्रिटिस काउन्सिल, आइडीपी आइइएलटिएस र क्याम्ब्रिज एसेस्मेन्ट इङ्ग्लिसले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।















