Dhulikhel Eco Banner new

सिटिजन्स बैंकद्वारा ‘म्यान–सिटिजन्स एसपाइरिङ म्यानेजर अवार्ड’ वितरण

3.38K
shares

काठमाडौं, माघ २५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा स्थापना गरिएको ‘म्यान–सिटिजन्स एसपाइरिङ म्यानेजर अवार्ड’ यस वर्ष गौरव उप्रेतीलाई प्रदान गरिएको छ।

उक्त अवार्ड नेपाल व्यवस्थापन संघ (म्यान) को राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते शनिबार घोषणा गरिएको हो । पुरस्कार सम्माननीय प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले प्रदान गरे ।

सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघका पदाधिकारीहरू सम्मिलित समितिले अवार्डका लागि छनोट प्रक्रिया सम्पन्न गरेको थियो । यस अवार्डले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने र भविष्यका व्यवस्थापन पेशेवरहरूलाई प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एम.बि.ए. तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘म्यान–सिटिजन्स एसपाइरिङ म्यानेजर अवार्ड’ स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । सो सम्झौता अनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एम.बि.ए. कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था छ ।

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ ।

हालै बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ तथा एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ सुरु गरेको छ । साथै, फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ पनि सञ्चालनमा ल्याइएको छ ।

नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा उपलब्ध गराएको बैंकले क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।