Dhulikhel Eco Banner new

बाढीपीडितको उद्धार तथा राहतमा नेपाल चेम्बर सक्रिय

390
shares

काठमाडौं, ११  भदौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान अघि बढाएको छ।

बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै चेम्बरले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायसँग आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

चेम्बरका अनुसार बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले चेम्बरले राहत संकलन तथा वितरणको काम अघि बढाएको जनाएको छ। रसुवा, नुवाकोट र धादिङमा सम्बन्धित जिल्ला चेम्बरमार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराइएको छ भने आवश्यकताअनुसार थप राहत सहयोग जारी राखिने बताइएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० केजी पेलोड क्षमताको ड्रोन तथा एउटा सर्भिलेन्स ड्रोन बिदुर नगरपालिकामा पठाइसकेको छ। त्यस्तै, १०० केजी पेलोड क्षमताको अर्को ड्रोन पठाउने अन्तिम तयारी भइरहेको चेम्बरले जनाएको छ।

यसैगरी प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइएको छ। नेपाल युवा चेम्बरले भदौ ११ गते जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको र आवश्यकताअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

नेपाल चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युवा चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा अन्य वस्तुगत संघसंस्थालाई उद्धार, राहत तथा आवश्यक व्यवस्थापन कार्यमा तत्काल सक्रिय हुन आग्रह गरेको छ।

विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्दै एकजुट हुनुपर्नेमा जोड दिँदै चेम्बरले तत्काल उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।