Dhulikhel Eco Banner new

भोटेकोशी बाढीबाट भएको क्षतिप्रति सिबिफिनद्वारा दुःख व्यक्त, प्रभावितलाई सहजीकरण गर्ने प्रतिबद्धता

299
shares

काठमाडौं,  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गहिरो दुःख व्यक्त गरेको छ।

सिबिफिनले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण निकाय र व्यक्तिप्रति उच्च सम्मान व्यक्त गरेको छ।

बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ।

प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले विपद्को असर ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा पर्न सक्ने सिबिफिनको भनाइ छ।

सिबिफिनका अनुसार हालको कठिन परिस्थितिमा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकतामा राखिएको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहलगायत आवश्यक व्यवस्था गरिरहेका छन्।

त्यसैगरी, वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण तथा व्यवसाय पुनःसञ्चालन र पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन सिबिफिनले सदस्य संस्थाका सञ्चालक समितिमार्फत समन्वय र सहजीकरण गर्ने जनाएको छ।

यसका साथै नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी प्रभावित क्षेत्र तथा ऋणीलाई राहत पुग्ने उपयुक्त नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्नसमेत सिबिफिन प्रयासरत रहने बताएको छ।

राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै सिबिफिनले उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग हातेमालो गरी आवश्यक सहयोग गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार र प्रतिबद्ध रहेको जनाएको छ।

अन्त्यमा, प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन संघीय, प्रदेश तथा स्थानीय सरकारले चालेका हरेक कदममा हातेमालो गर्दै एकताबद्ध भएर परिचालित हुन सिबिफिनले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई हार्दिक अपील गरेको छ।