Dhulikhel Eco Banner new

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर डिस्कोर्स’ प्यानल छलफल सम्पन्न

3K
shares

काठमाडौं, १४ फागुन । नेपालको बीमा उद्योगमै पहिलो पटक सिटिजन लाइफ इन्स्योरेन्सले “सिटिजन लिडर डिस्कोर्स” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते होटल पोखरा ग्रान्डे मा सम्पन्न कार्यक्रममा करिब ४० मिनेट अवधिको विशेष प्यानल छलफल सत्र सञ्चालन गरिएको थियो।

कार्यक्रमको सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए। कार्यक्रममा कम्पनीका सिटिजन लिडर्सहरू ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ तथा लक्ष्मी लामिछाने प्यानलिस्टका रूपमा सहभागी भएका थिए। छलफल सफलता, करियर विकास, अभिकर्ता भर्ना तथा बीमालेख निरन्तरताजस्ता विषयमा केन्द्रित रहेको थियो।

प्यानल छलफलका क्रममा टुक बहादुर रानाले पछिल्लो समय बढ्दै गएको व्यतित बीमालेख (ल्याप्स पोलिसी) लाई एजेन्सी व्यवसायको साझा चुनौतीका रूपमा प्रस्तुत गर्दै बिक्रीसँगै बीमालेखको निरन्तरतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले तालिमपछिको नियमित अनुगमन प्रणाली, स्वअध्ययन संस्कृतिको विकास, ग्राहक सेवा तालिका तथा नवीकरण सम्झना प्रणाली जस्ता व्यावहारिक उपाय अपनाउनुपर्ने सुझाव दिए।

ईश्वरी प्रसाद बरालले आफ्नो २१ वर्षे अनुभव साझा गर्दै बीमा पेशा केवल रोजगारी नभई सामाजिक जिम्मेवारीसँग जोडिएको क्षेत्र भएको उल्लेख गरे। ग्रामीण क्षेत्रमा विश्वासमा आधारित सम्बन्ध, बढ्दो वित्तीय सचेतना तथा अभिकर्ताको प्रत्यक्ष पहुँचका कारण बीमा व्यवसाय अझ प्रभावकारी बन्दै गएको उनको भनाइ थियो।

लक्ष्मी लामिछानेले बीमा पूर्ण रूपमा विश्वासमा आधारित पेशा भएको बताउँदै महिलाहरू यस क्षेत्रमा अत्यन्त सफल हुन सक्ने धारणा व्यक्त गर्नुभयो। महिलाको जिम्मेवारीबोध, संवेदनशीलता र परिवारप्रतिको सोचले परिवार केन्द्रित सुरक्षा सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उनले बताए।

सुरेश बाबु शर्माले नेपालमा अझै ठूलो जनसंख्या बीमाको पहुँचबाहिर रहेको उल्लेख गर्दै अभिकर्ताले केवल बिक्रीकर्ता नभई वित्तीय सचेतना दिने शिक्षक, जोखिम परामर्शदाता तथा परिवारको सुरक्षा मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । “हरेक घरमा बीमा, हरेक परिवारमा सुरक्षा” लाई साझा अभियान बनाउनुपर्ने उनको भनाइ थियो।

त्यसैगरी, राजु श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा अभिकर्ता व्यावसायिक वित्तीय परामर्शदाताका रूपमा रूपान्तरण हुनुपर्ने आवश्यकता औंल्याउँदै डिजिटल र सचेत ग्राहकको युगमा सेवा–केन्द्रित दृष्टिकोण आवश्यक भएको बताए।

करिब ४० मिनेट अवधिको उक्त सत्र प्रेरणादायी तथा सहभागीमुखी बनेको आयोजकले जनाएको छ। कार्यक्रममा एजेन्सी व्यवसायसँग सम्बन्धित चुनौती, सुधारका सम्भावित क्षेत्र तथा दीर्घकालीन रणनीतिबारे गहन संवाद भएको बताइएको छ।

कार्यक्रमको सफलतापछि कम्पनीले आगामी दिनमा पनि संवादमुखी तथा नेतृत्व विकास केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सिटिजन लाइफ इन्स्योरेन्सले नेतृत्व विकास, पारदर्शी संवाद र पेशागत सशक्तीकरणलाई प्राथमिकता दिँदै बीमा क्षेत्रमा नयाँ अभ्यासहरू अघि बढाउँदै आएको जनाएको छ।