ग्लोबल मनी विकका अवसरमा कामना सेवाका विभिन्न कार्यक्रम सम्पन्न
वि.सं.२०८२ चैत ९ सोमवार १६:०४
shares

काठमाडौं, ९ चैत । ग्लोबल मनी विक–२०२६ का अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल मनी विक अन्तर्गत प्रत्येक वर्ष मार्च महिनामा मनाइने विश्व वित्तीय सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअप्रेसन एण्ड डेभलभमेन्ट ओईसीडी को संयोजनमा आयोजना गरिन्छ । यस वर्ष उक्त सप्ताह मार्च १७ देखि २३ सम्म सञ्चालन गरिएको थियो ।
यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशभर प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको जनाएको छ ।
बैंकका अनुसार सातै प्रदेशका विभिन्न विद्यालयहरूमा सञ्चालन गरिएका कार्यक्रमबाट १ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
कार्यक्रमहरूमा साना–साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो ।
यसैगरी, पछिल्लो समय बढ्दै गइरहेको डिजिटल ठगीका घटनालाई मध्यनजर गर्दै बैंकले ओटिपी सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्रीहरू प्रसारण गरिएको जनाएको छ ।
त्यसैगरी, सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास, बचत तथा लगानी, बजेट समायोजन, आकस्मिक अवस्थाका लागि कोष व्यवस्थापन तथा अनलाइन ठगीबाट जोगिने उपायबारे पनि जानकारी प्रदान गरिएको छ ।
बैंकले सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी सन्देशसहित प्रभातफेरी कार्यक्रमहरू समेत सञ्चालन गरेको जनाएको छ ।

















