Dhulikhel Eco Banner new

बुढानीलकण्ठ नगर अस्पतालले मनायो दोश्रो वार्षिकोत्सव, नगरवासीको स्वास्थ्यमा विशेष ध्यान दिइने

1.12K
shares

काठमाडौं, १ वैशाख । बुढानीलकण्ठ नगर अस्पतालले आगामी बर्षमा विशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने तयारी गरेको छ । अस्पतालको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालले हाल प्रदान गरिरहेको सेवालाई अझ गुणस्तरीय, प्रभावकारी र विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्थानीय तहका अस्पतालहरूले आफ्नो स्रोत र साधनको उचित व्यवस्थापन गर्दै विशेषज्ञ सेवा विस्तार गर्न सक्ने बताएका छन्। उनले प्रदेश सरकारले आधारभूत अस्पतालहरूको व्यवस्थित सञ्चालनका लागि विशेष प्राथमिकता दिएको पनि स्पष्ट पारे।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको अस्पतालले छोटो अवधिमा उल्लेखनीय प्रगति गरेको उल्लेख गरे। उनले सेवाको गुणस्तर सुधार गर्न सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सुझाव र गुनासो राख्न आग्रह गर्दै, “यदि यहाँको सेवाप्रति कुनै असन्तुष्टि छ भने सिधै नगरप्रमुखसँग राख्नुहोस्, हामी समाधान गर्नेछौं,” भने।

उपप्रमुख अनिता लामाले अस्पतालको सफलता चिकित्सक तथा कर्मचारीहरूको निःस्वार्थ सेवाभावको परिणाम भएको बताइन्। उनले योग्य र सक्षम जनशक्तिको चयनलाई प्राथमिकता दिइएको कारण अस्पतालले विश्वसनीय सेवा दिन सफल भएको उल्लेख गरिन्। साथै, अस्पताललाई स्वायत्त रूपमा सञ्चालन गर्न नगरपालिकाले अभिभावकीय भूमिका खेलेको पनि उनले बताइन्।

कार्यक्रममा पूर्व नगरप्रमुख उद्धव खरेलले पनि अस्पतालको विकासमा निरन्तर सहयोग र समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

अस्पतालले आगामी दिनमा विशेषज्ञ चिकित्सक सेवा, आधुनिक उपकरण र थप सुविधाहरू विस्तार गर्दै नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।