गुमुखोला भ्याकुरे हाइड्रोपावरको आईपीओ तयारी अघि बढ्यो
वि.सं.२०८३ साउन २१ बिहीवार १४:११
shares

काठमाडौं, २१ साउन । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी अघि बढाएको छ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
यस सम्बन्धमा सम्पन्न सम्झौतापत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका अध्यक्ष मित्र बहादुर श्रेष्ठ तथा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा अवस्थित गुमुखोला भ्याकुरे जलविद्युत आयोजना ‘रन अफ द रिभर प्रविधिमा आधारित रहेको छ। आयोजनाको कुल जडित क्षमता ९५० किलोवाट रहेको छ भने वार्षिक करिब ५.६ गिगावाट–घण्टा विद्युत उत्पादन भइरहेको छ।
आयोजनाबाट उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिएको कम्पनीले जनाएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा सर्वसाधारणका लागि कुल ५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने तयारीस्वरूप आरबिबि मर्चेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ। आईपीओ निष्काशनको मिति भने आवश्यक नियामकीय स्वीकृतिपछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।















