खल्तीमा करदाता उपहार कार्यक्रम
वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:४६
shares

काठमाडौं, २२ साउन । नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा अब आईएमई खल्ती लिमिटेड (खल्ती) का प्रयोगकर्ताले पनि सहज रूपमा सहभागिता जनाउन सक्ने भएका छन्।
यस कार्यक्रमअन्तर्गत खल्तीमार्फत रु। १०० वा सोभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार योजनामा सहभागी हुनेछन्। योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पठाइनेछ भने उपहार कुपन पनि स्वतः सिर्जना हुनेछ। प्रयोगकर्ताले आफ्नो कुपन खल्ती एपमै हेर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रमअनुसार प्रत्येक दिन एक जना विजेताले कर कट्टीपछि रु। १ लाख प्राप्त गर्नेछन् भने हरेक १५ दिनमा एक जना बम्पर विजेताले कर कट्टीपछि रु। १० लाख जित्ने अवसर पाउनेछन्। विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन र इमेलमार्फत जानकारी गराउनेछ। खल्तीमार्फत सहभागी भएर विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि विभिन्न माध्यमबाट सूचना दिने जनाएको छ।
खल्तीका अनुसार सरकारको यस पहलमा सहकार्य गर्दै बिलमा आधारित कारोबारको अभ्यास विस्तार गर्ने, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने तथा कारोबारलाई औपचारिक अर्थतन्त्रसँग जोड्न सहयोग पुर्याउने उद्देश्य राखिएको छ। कम्पनीले यसबाट राजस्व प्रणालीलाई थप पारदर्शी र सुदृढ बनाउन समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको महत्त्वपूर्ण पहललाई आफ्ना प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउन पाएकोमा खुसी व्यक्त गर्दै वित्तीय पारदर्शिता प्रवर्द्धन, सरकारी प्राथमिकतासँग सहकार्य तथा डिजिटल अर्थतन्त्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याए। सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवामार्फत प्रत्येक नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रयास निरन्तर रहने उनले बताए।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक आईएमई खल्ती लिमिटेड आईएमई पे र खल्तीको एकीकरणपछि सञ्चालनमा आएको कम्पनी हो। कम्पनीका अनुसार हाल यसको सेवामा १ करोड २७ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्ता आबद्ध छन्। खल्तीले डिजिटल भुक्तानी, मर्चेन्ट क्यूआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्सलगायत विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ।















