एनएमबि सरल बचत फण्डले ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने
वि.सं.२०८३ साउन २२ शुक्रवार ११:५१
shares

काठमाडौं, २२ साउन । एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको एनएमबि सरल बचत फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५.२५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीका अनुसार २०८३ असार मसान्तसम्म कायम रहेको ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा बराबरको इकाई पुँजीमा उक्त दरले २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा नगद प्रतिफल वितरण गरिनेछ।
यो प्रतिफल प्राप्त गर्न २०८३ साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा नाम कायम रहेका लगानीकर्ता मात्र योग्य हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रतिफल वितरण प्रक्रिया नियामकीय व्यवस्था अनुरूप पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गरिनेछ। लाभांश पुनर्लगानी (Dividend Reinvestment Plan–DRIP) रोजेका इकाईधनीले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्नेछन्। पुनर्लगानीमा सहभागी नभएका इकाईधनीको हकमा भने कर कट्टीपश्चात् प्रतिफल सम्बन्धित बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।
एनएमबि क्यापिटलले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ। कम्पनीले बजारको अवस्था, लगानीका अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।
साथै, कम्पनीले लगानीकर्तालाई आफ्नो बैंक खाता विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न आग्रह गर्दै प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि आफ्नो कार्यालय वा आधिकारिक माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।















