नाइमा मोबिलिटी एक्स्पोको तयारी पूरा
वि.सं.२०८३ साउन २६ मंगलवार ११:१६
shares

काठमाडौं, २६ साउन । नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) ले २०८३ साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ।
अटो प्रदर्शनी २०८३ साउन २६ गते (११ अगस्ट २०२६) बिहान ९ बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन सभागारमा उद्घाटन हुनेछ। उद्घाटन सत्रमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका अधिकारी, प्रतिष्ठित संघसंस्थाका पदाधिकारी, नाइमाका सञ्चालक समिति पदाधिकारी तथा सदस्य संस्थाहरू, प्रदर्शनी साझेदार संस्था, अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिलगायतको विशेष उपस्थिति रहनेछ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योग अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन हुनेछन्। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउने मात्र नभई भविष्यको दिशा तय गर्ने महत्वपूर्ण मञ्च भएको बताइन्।
‘एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भनिन्, ‘यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याउँदैछौँ। उद्योग क्षेत्रको उत्साहपूर्ण सहभागिताले एक्स्पोप्रतिको विश्वास अझ बलियो बनाएको छ।’
त्यस्तै, एक्स्पोको अटो प्रदर्शनी योजना समितिका अध्यक्ष गौरव सारडाले नाइमा सञ्चालक समिति तथा विभिन्न समितिहरूको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै एक्स्पोको तयारी अगाडि बढाइरहेको बताए।
‘यसपटक प्रदर्शनीसँगै सिकाइ सत्र, तालिम तथा जनचेतनामूलक कार्यक्रमहरूलाई पनि विशेष प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र सरोकारवालालाई जोडेर ज्ञान आदानप्रदान, सीप विकास तथा सुरक्षित र जिम्मेवार मोबिलिटीप्रति जनचेतना अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो।’
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताए।‘मेला अवधिभर ६ दिन आयोजना हुने विभिन्न सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योग अन्तरक्रियामा सहभागिताका लागि हामी सबैलाई हार्दिक अनुरोध गर्दछौँ,’ उनले भने।
उद्घाटन समारोह सम्पन्न भएपश्चात् एक्स्पो उद्घाटनका दिन २०८३ साउन २६ गते (११ अगस्ट २०२६) दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म र बाँकी दिनहरूमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुला रहनेछ।
मेलाको सहप्रायोजकमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल मुख्य ऊर्जा साझेदारका रूपमा रहेको छ। त्यस्तै, बैंकिङ साझेदारका रूपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन्। मेलाको बिमा साझेदारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्।
त्यसैगरी, प्रविधि साझेदारमा बोस, शैक्षिक साझेदारमा ग्लोबल कलेज र एम्बार्क कलेज, विद्युतीय सवारी चार्जिङ साझेदारमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, सवारी साझेदारमा पठाओ नेपाल प्राइभेट लिमिटेड, पानी तथा पेयजल साझेदारमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, आतिथ्य साझेदारमा द सोल्टी काठमाडौं, स्वास्थ्य साझेदारमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, निगरानी साझेदारमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा अग्नि सुरक्षा साझेदारमा हिट्को प्राइभेट लिमिटेड रहेका छन्।
नाइमा मोबिलिटी एक्स्पोको सह साझेदारमा आइएमई खल्ती लिमिटेड, क्यूआर साझेदारमा युनियन पे, श्रव्यदृश्य साझेदारमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल साझेदारमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, सवारी सुरक्षा साझेदारमा एटीएस नेपाल, व्यवस्थापन साझेदारमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, सञ्चार तथा इन्टरनेट साझेदारमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र प्रकाशन साझेदारमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन्।















