Dhulikhel Eco Banner new

Samsung ले नेपालमा नयाँ Galaxy Z सिरिज र Galaxy Watch सार्वजनिक गर्‍यो

182
shares

काठमाडौं,१० भदौ । Samsung ले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाचहरू नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले Galaxy Z Fold8 Ultra, Galaxy Z Fold8, Galaxy Z Flip8, Galaxy Watch Ultra2 र Galaxy Watch9 नेपालमा सार्वजनिक गर्दै बिक्रीसमेत अगस्ट २६ देखि सुरु गरेको हो। नयाँ Galaxy Z सिरिजलाई Samsung ले उत्पादकत्व, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिलाई केन्द्रमा राखेर प्रस्तुत गरेको छ।

नयाँ सिरिजमध्ये Galaxy Z Fold8 Ultra ले Samsung को प्रिमियम ‘अल्ट्रा’ अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ। यसमा ८ इन्चको मुख्य डिस्प्ले, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शन क्षमता रहेको छ। ठूलो स्क्रिनका कारण मल्टिटास्किङ, क्रिएटिभ काम तथा भिडियो सामग्री हेर्न थप सहज हुने कम्पनीको दाबी छ। यसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा र ५० मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा समेत रहेको छ।

त्यस्तै, Galaxy Z Fold8 लाई दैनिक प्रयोग तथा इमर्सिभ कन्टेन्ट अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यसको फराकिलो कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्न सकिन्छ भने मुख्य ४:३ डिस्प्ले गेमिङ, पढाइ तथा भिडियो सामग्रीका लागि प्रयोग गर्न सकिन्छ। Samsung का अनुसार Fold8 अहिलेसम्मकै हलुका Galaxy Z Fold हो र यसको तौल २०१ ग्राम रहेको छ।

Galaxy Z Flip8 भने व्यक्तिगत शैली, सहजता र छिटो प्रयोगलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि लक्षित गरिएको छ। यसमा ५० मेगापिक्सेलको क्यामेरा, प्रोभिजुअल इन्जिन तथा फ्लेक्सक्याम सुविधा रहेको छ। यसको सुधारिएको कभर स्क्रिनमार्फत फोन नखोली विभिन्न एप, सूचना तथा अन्य सुविधाहरू प्रयोग गर्न सकिन्छ।

Samsung ले नयाँ फोल्डेबल फोनसँगै Galaxy Watch Ultra2 र Galaxy Watch9 पनि नेपालमा सार्वजनिक गरेको छ। यी स्मार्टवाचले प्रयोगकर्ताको दैनिक स्वास्थ्यसम्बन्धी तथ्यांकलाई थप उपयोगी जानकारी तथा सुझावमा रूपान्तरण गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। दुवै स्मार्टवाच स्न्यापड्रागन वेयर एलिट प्लेटफर्मबाट सञ्चालित छन् र निरन्तर स्वास्थ्य निगरानी, राम्रो प्रदर्शन, आरामदायी प्रयोग तथा लामो ब्याट्री जीवनलाई ध्यानमा राखेर तयार गरिएको बताइएको छ।

Galaxy Watch Ultra2 विशेषगरी बाहिरी गतिविधि तथा उच्च प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरिएको छ भने Galaxy Watch9 दैनिक स्वास्थ्य तथा फिटनेस निगरानीका लागि तयार गरिएको छ। Watch9 मा गतिविधि, निद्रा तथा अन्य स्वास्थ्यसम्बन्धी जानकारी निगरानी गर्ने विभिन्न सुविधा उपलब्ध छन्।

नयाँ Galaxy Z सिरिजप्रति नेपाली ग्राहकको आकर्षण प्रि–अर्डरमै देखिएको Samsung ले जनाएको छ। कम्पनीका अनुसार Galaxy Z Fold8 Ultra मा Violet Shadow, Galaxy Z Fold8 मा Lavender र Galaxy Z Flip8 मा Pink रङ ग्राहकको रोजाइमा अगाडि रहेका छन्।

नेपालमा Galaxy Z Fold8 Ultra (१२ जीबी र्‍याम/५१२ जीबी) को मूल्य रु ३ लाख ३९ हजार ९९९ तोकिएको छ भने १२ जीबी/२५६ जीबी संस्करणको मूल्य रु २ लाख ९९ हजार ९९९ रहेको छ। त्यस्तै, Galaxy Z Fold8 (१२ जीबी/२५६ जीबी) को मूल्य रु २ लाख ७४ हजार ९९९ र Galaxy Z Flip8 (१२ जीबी/२५६ जीबी) को मूल्य रु १ लाख ९४ हजार ९९९ रहेको छ।

स्मार्टवाचतर्फ Galaxy Watch Ultra2 को मूल्य रु १ लाख २३ हजार ४९९ तोकिएको छ। Galaxy Watch9 को ४४ एमएम संस्करणको मूल्य रु ७१ हजार ४९९ र ४० एमएम संस्करणको मूल्य रु ६६ हजार ४९९ रहेको छ।

नयाँ डिभाइस खरिदलाई सहज बनाउन Samsung ले २४ महिनासम्मको ईएमआई सुविधा समेत उपलब्ध गराएको छ। कम्पनीका अनुसार ईएमआई सुविधा लिन नागरिकता मात्र आवश्यक पर्नेछ। उपलब्ध विवरणअनुसार Galaxy Z Flip8 को मासिक ईएमआई रु ५ हजार २९१, Fold8 को रु ७ हजार ४६२, Fold8 Ultra २५६ जीबीको रु ८ हजार १४० र ५१२ जीबी संस्करणको रु ९ हजार २२५ बाट सुरु हुन्छ।

यससँगै Samsung ले नेपालमा फोल्डेबल स्मार्टफोन र स्मार्टवाचको नयाँ पुस्ता भित्र्याएको छ। प्रयोगकर्ताको आवश्यकता अनुसार ठूलो स्क्रिन र शक्तिशाली उत्पादकत्वका लागि Galaxy Z Fold8 Ultra, इमर्सिभ कन्टेन्ट अनुभवका लागि Galaxy Z Fold8 तथा स्टाइल र सहज प्रयोगका लागि Galaxy Z Flip8 रोज्न सकिनेछ।