Dhulikhel Eco Banner new

मनकामना केबलकार २७ औं वर्षमा प्रवेश, १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य

2.76K
shares

काठमाडौं, ९ मंसिर । नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा शुभारम्भको २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २६औँ वार्षिकोत्सवको उपलक्ष्यमा हामी हाम्रा यस केवुलकारका साथै नेपालकै केवुलकारका स्रष्टा स्व। लक्ष्मण बाबु श्रेष्ठलाई सम्झदै उनको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको हो ।

केवुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भइसकेको छ ।

२६ वर्ष पुगिसकेको यो एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ ।

साथै मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

“रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ,” मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भने, “रिसोर्ट सञ्चालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने हाम्रो लक्ष्य रहने छ ।”

सञ्चालनमा आएपछि मनकामनामा शुरुवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैँ आएको कम्पनीले जनाएको छ ।

यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको कम्पनीको भनाई छ । स्व. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उनको पुण्य नीति अनुसार हामीले शुरुदेखि नै सामाजिक व्यवसायिक उत्तरदायी नीति अङ्गाली आएको निर्देशक श्रेष्ठले बताए ।

“यस अन्तर्गत हामीबाट मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएका छौँ,” उनले भने, “बिनाशकारी गोरखा भुकम्पमा समेत यस संस्थाले सहयोग गरेको छ । सिएसआर नीति अनुसार नै हामीले केवुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत ९१ प्रतिशत०का दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएका छौँ ।”

बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना यात्रुहरूलाई, शहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिका, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने शुभेच्छुकहरूका साथै, कर्मचारीहरूलाई कृतज्ञता ज्ञापन गरेको छ ।