एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
वि.सं.२०८२ वैशाख २८ आइतवार १२:३०
shares

काठमाडौं, २८ वैशाख । एनएमबि बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्सबीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत ५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको हो ।
बैंकका अनुसार सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लि. द्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंक लि. को अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंक लि. ले ऋण लगानी गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी इन्भाइरोमेन्गटल एण्ड सोसल रिक्स म्यानेजमेन्ट २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति इन्भाइरोमेन्ट सोसल पोलिसी तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली इन्भाइरोमेन्ट एण्ड सोसल म्यानेजमेन्ट सिस्टम लागु गरिसकेको बैंकले जनाएको छ ।


















