Dhulikhel Eco Banner new

स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने

4.37K
shares

काठमाण्डौ,६ वैशाख । गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको छ ।

नगर क्षेत्रभित्रका केही निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृति नै प्रदान नगरेका पाठ्यसामग्री, पाठ्यपुस्तक वा शिक्षण सिकाइ सामग्री प्रयोगमा ल्याएको भन्ने गुनासो आएपछि नगरपालिकाले विद्यालयको अनुगमनको तयारीसमेत थालेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

“नगरपालिकाले सबै विद्यालयलाई अनिवार्य रूपमा स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्न निर्देशन दिइसकेको छ”, उनले भने, “केही निजी विद्यालयले शिक्षा नियमावलीविपरीत पाठ्यपुस्तक प्रयोग गरेको गुनासो आएकाले अनुगमन गर्ने तयारीसमेत भइरहेको छ ।”

उनले कुनै पनि विद्यालयले स्वीकृत पाठ्यपुस्तकभन्दा बाहिरका पाठ्यपुस्तक पढाउनु शिक्षा नियमावलीविपरीत हुने बताएका छन् । “हामीले स्वीकृत पाठ्यपुस्तक मात्रै लागू गर्ने भनेर निर्णय पनि गरिसकेका छौँ”, उनले भने, “केही विद्यालयले आफुखुसी पाठ्यपुस्तक प्रयोगमा ल्याएको भन्ने गुनासो हामीलाई पनि आएको छ, हामी अनुगमन गरी आवश्यक कारबाही गर्छौँ ।”

गुनासो आएका विद्यालयका सञ्चालकलाई टोलिफोनसमेत गरेर नगरपालिकाले सचेत गराइसकेको पनि उनको भनाइ छ । “गुनासो आएका विद्यालयका सञ्चालकलाई हामीले तपाईँहरूले स्वीकृत गरेकाभन्दा बाहिरको पाठ्यपुस्तक लगाएको छ भन्ने गुनासो आएको छ, के भएको तुरुन्त सच्याउनु होस् भनेका पनि छौँ”, प्रमुख खड्काले भने।

प्रमुख खड्काले विद्यायलयको अनुगमनका लागि समितिसमेत गठन गरिसकेको जानकारी दिए । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्वीकृति प्रदान गरिएका पाठ्यपुस्तक, पाठ्य सामग्री तथा सिकाइ सामग्रीमात्र प्रयोग गर्न–गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।

शिक्षा नियमावली, २०५९ को परिच्छेद ७ को नियम ३५ वमोजिम विद्यालयहरूले प्रयोग गर्ने पाठ्यपुस्तक, थप पाठ्य सामग्री तथा शिक्षण सिकाइ सामग्री केन्द्रले अनिवार्य स्वीकृत गरेको हुनुपर्ने व्यवस्था छ ।