सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो
वि.सं.२०७९ भदौ २९ बुधवार ०६:००
shares

काठमाडौं, २९ भदौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले मंगलबार (आज) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त शेयरमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म समय थप हुनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले आईपीओमा मेरो शेयर एप र वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आश्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।















