Dhulikhel Eco Banner new

१३२ दिनमा करिब ८ अर्बको विद्युत निर्यात

5.55K
shares

काठमाडौं, २५ असोज । नेपाल विद्युत प्राधिकरणले हालसम्म करिब ८ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले भातर तर्फ विद्युत बिक्री गर्न थालेपछि हालसम्म ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँको १ अर्ब ३० लाख युनिट बिक्री गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएको जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रा लागि एउटा कोशेढुङ्गा सावित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिले बताए । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।

सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिकरूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा ३६४ मेगावाट विजुली भारतीय बजारमा बिक्री हुँदै आएको छ ।

नेपालले बिक्री गर्ने विद्युत भारतीय रुपैयाँमा हुने भएकाले राज्यले असोज २५ गते आजसम्म ४ अर्ब ९५ करोड ७६ लाख भारतीय रुपैयाँ आर्जन गर्न सफल भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा बिजुली निर्यातबाट झन्डै १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।