रसुवागढी जलविद्युत् आयोजनाबाट चालु आर्थिक वर्षमै विद्युत उत्पादन गरिने
वि.सं.२०७९ कात्तिक १३ आइतवार १०:१४
shares

काठमाडौं, १३ कात्तिक । रसुवा जिल्लामा निर्माणाधिन रसुवागढी जलविद्युत् आयोजनाबाट चालु आर्थिक वर्ष भित्रै विद्युत उत्पादन गरिने भएको छ । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन आयोजनाको भूमिगत संरचनाबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको छ ।
अहिले उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ । जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, चालु आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्नका लागि काम भइरहेको अयोजनाले जनाएको छ ।
भूमिगतरूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमूनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माण कार्य गरिरहेको छ ।
चिलिमेको निर्मातामध्येका एक सदस्य एवं रसुवागढी जलविद्युत् कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक माधव कोइरालाको एकल डिजाइन रहेको एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भौगोलिक असहजताकै कारण निर्माणमा ढिलाइ भएको थियो ।



















