बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने
वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३७
shares

काठमाडौं, ४ वैशाख ।काठमाडौं, ४ वैशाख । नेपाल बीमा प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले आफ्नो मौज्दात लगानी नीति अनुरूप वाणिज्य बैंक तथा विकास बैंकहरूमा रकम राख्ने प्रक्रिया अघि बढाएको हो।
यसका लागि इच्छुक बैंकहरूलाई आफूले प्रस्ताव गर्न सक्ने अधिकतम ब्याजदर उल्लेख गरी ६ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिएको छ। प्राधिकरणका अनुसार पेश गरिने दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ।
दरभाउपत्रसँगै बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने ब्याजदर, पछिल्लो प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सानको विवरण, निष्कृय सम्पत्ति, कर्जा–निक्षेप अनुपात तथा पूँजी पर्याप्तता कोषसम्बन्धी जानकारी समेटिएका कागजातहरू पेश गर्नुपर्नेछ।
यद्यपि, प्राधिकरणले लगानी गर्ने कुल रकम भने हालसम्म सार्वजनिक गरेको छैन।


















