Dhulikhel Eco Banner new

बीमा कम्पनीको सञ्चालक बन्न स्नातकोत्तर पास गर्नु पर्ने

5.46K
shares

काठमाडौं, १४ कात्तिक । बीमा कम्पनीको सञ्चालक बन्नका लागि शैक्षिक योग्यता तोकिएको छ । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७९ मा बीमा कम्पनीको सञ्चालक बन्नका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गर्नु पर्ने व्यवस्था गरिएको हो ।

उक्त ऐनको दफा ४९ मा बीमा कम्पनीको सञ्चालकको योग्यता सम्बन्धी व्यवस्था गरिएको छ । जस अनुसार बीमा कम्पनीको सञ्चालका बन्नका लागि चार्टर्ड एकाउटेण्सी गरेको वा बीमा मौद्रिक, बैंकङ्गि, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न योग्य हुने उल्लेख गरिएको छ ।

यसै दफाको उपदफा १ मा विदेशी वा स्वदेशी बीमक, बैंक तथा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा ५ वर्ष काम गरेको व्यक्ति कम्पनीको सञ्चालकमा नियुक्त हुन योग्य मानिने उल्लेख गरिएको छ ।

यस्तै, बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानून विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको र स्वदेशी वा विदेशी बीमक वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा व्यवस्थापन तहमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरेको व्यक्ति बीमकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुन योग्य मानिने पनि ऐनमा उल्लेख गरिएको छ । तर, बीमकको सञ्चालक, सञ्चालकको एकाघर परिवारको सदस्य, लेखापरीक्षक, परामर्शदाता तथा बीमकको आधारभुत सेयरधनी वा बीमकसंग वित्तीय स्वार्थ भएको व्यक्ति स्वतन्त्र सञ्चालक हुन पाउने छैनन् ।

त्यस्तै ऐनको दफा ५० मा सञ्चालकको अयोग्यताको व्यवस्था गरिएको छ । जस अनुसार २५ वर्ष उमेर पूरा नभएको, शारीरिक तथा मानसिक अस्वस्थताको कारणले सञ्चालक भई सेवा गर्न असमर्थ भएको, प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्थामा रहेको, प्रचलित कानून बमोजिम कालोसूचीमा वरी फुकुवा भएको मितिले ३ वर्ष पूरा भएको, बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभुत सेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी कम्पनीको सञ्चालक हुन नपाउने व्यवस्था ऐनमा गरिएको छ ।

सरकारले बीमा ऐन, २०७९ राजपत्रमा प्रकाशित गरेको छ । असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ऐन स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिबाट स्वीकृत भएको ३१ दिन भित्र ऐन लागू हुने व्यवस्था छ । जसअनुसार बीमा ऐन कातिक २२ गते दखि लागू हुनेछ ।